जनता टाइम्स

८ असार २०८२, आईतवार २३:३२

बेहाल रास्वपा : चर्चा कमाउन लाग्दा यता न उता


यी तथ्यहरुले के दखाउँछ भने रास्वपाका नेताहरु आफ्नो समृद्धि, वाहवाही र सस्तो लोकप्रियताबाहेक कसैप्रति जिम्मेवार छैनन । जे गर्नुछ आफ्नै लाग मात्र गर्ने नीतिका साथ मिडियामा छाउन हरेक दिन नयाँनयाँ नाटक मञ्चन गरिरहेका छन । ब्लू क्रान्तिदेखि सदन बैठकमा पलेटी र यागाशनसम्मका दृष्यले रास्वपाका नेताहरु आफ्नो चर्चाका लागि मात्र गरिरहेका छन भन्ने छ्याङ्गै पारिदिएको छ । जुन कुराले अव आन्दोलन गयल भैस पानीमे जस्तो अवस्थामा पुगेको छ ।

नवराज पथिक

नेकपा माओवादी केन्द्रले बोकेको मुद्दामा सवार भएर संसदमा छिरेको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै फ्याँकिएको चक्का साइड लगाउन खोज्दा उम्कनै नसक्ने गरी फसेको छ । भिजिट भिसा प्रकरणमा माओवादीले चर्को आवाज उठाउँदै आन्दोलनको नेतृत्व लिएपछि त्यसमा सवार गरेको रास्वपा माओवादीले नै साथ छाडेर एक्लो पारिदिएपछि अब के गर्ने भन्ने अन्योलमा परेको छ । राजा फर्काउने आन्दोलनमा लागेको राप्रपासँगै उभिएर अनुहारमा कालो दाग लगाएर बस्नुपरेको छ रास्वपा यतिबेला ।

कांग्रेस र एमालेमा दुरी बढाउन भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद् अवरुद्ध गरेको माओवादी आफ्नै लागि प्रत्युत्पादक हुने देखेपछि त्यो एजेण्डा छाडेर आन्दोलनबाटै भागेको छ । गृहमन्त्रीको राजीनामा माग गरेर जेठ १३ गतेबाट संसद् अवरुद्ध गरेको माओवादी केही दिनमा नै सो माग छाडेर छानबिन समिति गठनको एजेण्डामा आयो । पछि त्यो पनि अख्तियारले छानबिन गरिरहेकाले त्यसको प्रतिवेदन आएपछि एक महिनाभित्र छानबिन समिति गठन गरे हुने भन्दै माओवादी आन्दोलनबाट फिर्ता भयो ।

गणतन्त्रपछि अधिकांश समय सत्तामा बसेको माओवादी र गृहको नेतृत्व लिएको कारण आफ्नै जाकिने त्रासमा भिजिट भिसाको कुरा सुुन्नै नचाहने अवस्थामा आइपुगेको छ । माओवादी आफ्नो मुद्दाबाट पन्छिएपछि कांग्रेस र एमालेलाई घेर्ने उसैको नेतृत्वमा अघि बढाइएको रणनीति असफल भएको छ । विशेषतः कांग्रेस, एमालेमाथि दबाब दिन र आफ्नो शक्ति देखाउन माओवादीले थालेको यो आन्दोलन अख्तियारको छानबिन प्रगतिशील ढङ्गले अगाडि बढ्न थालेपछि तुहिएको हो ।

जतिबेलाबाट भिजिट भिसामा चलखेल भयो भन्ने आशङ्का गरिएको छ, त्यसयता एमालेबाट गृहमन्त्री भएका छैनन । एमालेबाट गृहमन्त्री भएका बामदेव गौतम र भीम रावल अहिले पार्टी बाहिर हुनुहुन्छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल रहेको समयमा सवैभन्दा कम दखिएको छ । बादल पनि माओवादीकै कोटाबाट गृहमन्त्री बन्नुभएको हो । यो अवधिमा कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका मात्र गृहमन्त्री भएका छन् । त्यसको छानबिन हुँदा एमालेलाई फसाउन नसकिने बरु आफ्नै नेताहरू फस्ने देखेपछि माओवादी टाङमुनि पुच्छर हालेर बसेको छ ।

माओवादी आन्दोलनबाट भागेपछि अब आन्दोलनको अगुवाइ रास्वपाले गर्नुपर्ने स्थिति आएको छ, तर न नीति स्पष्ट छ, न योजना नै छ । संगठानिक तयारी पनि छैन, आन्दोलन हाँक्ने ल्याकत पनि कुसँसँग देखिदैन । संसद बैठकमा केही दिन देखिएका दृष्यले रास्वपाका सांसदहरु भकाभक शरीरको बस्त्र खोल्दै नग्न अवस्थामा पुर्याएको बिश्लेषण सोही दलका समर्थकले गर्न थालेका छन । रास्वपाका सांसदहरू सुरुवाती दिनहरूमा संसदमा होहल्ला गर्न सक्रिय देखिए पनि अव संसदमा उनीहरूको सक्रियता घट्दै गएको छ ।

थकित, गलित अनि गन्तब्यहीन छौं भन्ने महसुस भएपछि आन्दोलनको उर्जा पनि हराएको छ । मुख्य नेता रबि लामिछाने ठगीमा जेलमा पुग्नु, अरु सवै मुख्य नेताकै नाम भजाएर अन्टसन्ट बोल्ने कामले पनि उनीहरु आन्दोलन आफ्नै लागि पासो बनेको बुझाइमा पुगेको देखिन्छ । पार्टीभित्रको नेतृत्व द्विविधा, सांसदहरूको विदेश मोह र नेताहरूको अनुशासनहीनताले आन्दोलनलाई गम्भीरतासँग अघि बढाउन नसकेको तथ्य पनि कसैले बुझ्न सकिरहेका छैनन ।

हाटहुटमै संसदमा पुगेको प्रष्ट तस्विर अहिलेसम्मका घटनाक्रमले देखाइसकेको छ । माओवादीसँग उफ्रिएको रास्वपा माओवादीले आन्दोलन बिसाएपछि राप्रपासँग मिलेर सदनमा हल्ला गर्दैछ । राप्रपासँग हल्लाको सल्ला नमिल्दा रास्वपा यति बेला सांसदमा एक्लो जस्तै भएको छ ।

रवि लामिछानेको सङ्कट र नैतिकताको प्रश्न

रास्वपाका सभापति रवि लामिछाने आफैँ सहकारी ठगी, दोहोरो नागरिकता, दोहोरो राहदानी लगायतका विवादमा मुछिइरहेका व्यक्ति हुन । यस्तो व्यक्तिका नेतृत्वमा संसदमा ‘नैतिकता’को आधारमा गृहमन्त्रीको राजीनामाको माग गर्नु नै विरोधाभासपूर्ण देखिन्थ्यो । अब भिजिट भिसा प्रकरणको गहिराइमा छानबिन हुँदै जाँदा लामिछानेको पनि संलग्नताको शङ्का उब्जिएको छ । लामिछाने गृहमन्त्री भएको बेला पनि भिजिट भिसामा धेरै गएकोले त्यसमा चलखेल हुनु स्वाभाविक देखिन्छ ।

रास्वपाले मुद्दा उठाउने साहस त गरेको थियो, तर त्यो मुद्दाले आफैँलाई घेरिरहेको स्थिति देखेपछि पार्टीभित्र गम्भीर रणनीतिक बहस नै हुनसकेको छैन । संसद् अवरुद्ध गर्नेजस्तो ठुलो निर्णय गर्दा पार्टीको आन्तरिक तयारी नहुनु, सांसदहरूकै सहभागिता न्यून हुनु र नेताहरूको आन्दोलनकै समयमा विदेश जानुजस्ता गतिविधिले रास्वपाको आन्दोलनलाई नै बेमौसमी र ‘मेलो’ साबित गरिदिएको छ । त्यहीबीचमा उपसभापति डा. स्वर्णिम वाग्ले फेस सेभिङ गराइदिनुपर्यो भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय बिनय गर्दा त्यो फटाहतिर किन लागेको भन्दै उल्टै हप्काइ खाएर फर्कनुपरेको तीतो यथार्थ रहेको छ ।

आन्दोलनको समयमा विदेशतिर घुमघाम

सांसदभित्र आन्दोलन चलिरहेको भनिएको बेलामा रास्वपाका प्रमुख नेताहरू विदेश यात्रामा छन् । सो पार्टीका कार्यवाहक सभापति डिपी अर्याल आन्दोलन छाडेर कतारतिर हानिनुभएको छ ।म्यानपावर ब्यवसायी अर्याल संसदभित्रको आन्दोलन छाडेर प्रवास विभागको कार्यक्रमको बहानामा ब्यवसाय गर्न जानुले पनि यो आन्दोलनलाई रास्वपाले कति महत्व दिएको छ भन्ने पुष्टि हुन्छ ।सो पार्टीकी सांसद डा. तोसिमा कार्की आन्दोलन छाडेर अमेरिका पुग्नुभएको छ । त्यहाँ उहाँको विशेष कार्यक्रम केही छैन । जम्मा भेटघाट कार्यक्रम मात्रै हो । मन्दिरतिर घुमघाम अनि नेपाली भेट्यो कि भिडियो बनाउने खेती गरिरहनुभएको छ ।

संसद्को आन्दोलन भन्दा भेटघाट कार्यक्रमले प्राथमिकता पाउनु भनेको यो आन्दोलन रास्वपाको प्राथमिकताको आन्दोलन होइन भन्ने पुष्टि गर्ने आधार हो । रास्वपाका अर्का सांसद गणेश पराजुली पनि आन्दोलन छाडेर अष्ट्रेलियातिर लाग्नु भएको छ । उहाँ रास्वपा निकट प्रवासी नेपाली सम्पर्क विभागको निम्तो मान्न जानु भएको हो । आन्दोलन भन्दो त्यताको निम्तो उहाँको प्राथमिकतामा परेको छ । यस्तै हरि ढकाल र सोविता गौतम भारततिर लाग्नु भएको छ । संसद्को महत्वपूर्ण भनिएको आन्दोलन छाडेर उहाँहरू भारतमा रहेका नेपालीहरूसँग रमाइ रहनुभएको छ ।

यसले के पुष्टि गर्छ भने रास्वपाले संसदभित्र चलाएको आन्दोलन अर्थहीन छ । त्यो उसको प्राथमिकताको आन्दोलन होइन । जम्मा काम्लोमा बोकेको सातु फाल्न नसकेर बोकेर हिँड्नु पर्ने बाध्यतामामा सो पार्टी अलमलिएको छ । नेपालमा जेलन्स्कीको खोजी भन्नेहरु कसैले बोकाइदिएको भारी पो हो कि भन्ने पनि देखिन्छ ।संसदमा आफूले नेतृत्व लिएको आन्दोलन चलिरहेका बेला पार्टी नेताहरूको यस्तो प्रवृत्तिले आन्दोलन प्रति गम्भीरता छैन भन्ने कुरा पुष्टि गर्छ । संसद्को रोस्टम प्रयोग गरेर विरोध प्रकट गर्नु र त्यसपछि आफ्नै पार्टीभित्रका सांसदलाई उपस्थित हुन नलगाउनु आन्दोलनलाई औपचारिकता भन्दा पनि नाटकमा परिणत गर्नु हो भन्ने आरोप लाग्न थालेको छ ।

यी तथ्यहरुले के दखाउँछ भने रास्वपाका नेताहरु आफ्नो समृद्धि, वाहवाही र सस्तो लोकप्रियताबाहेक कसैप्रति जिम्मेवार छैनन । जे गर्नुछ आफ्नै लाग मात्र गर्ने नीतिका साथ मिडियामा छाउन हरेक दिन नयाँनयाँ नाटक मञ्चन गरिरहेका छन । ब्लू क्रान्तिदेखि सदन बैठकमा पलेटी र यागाशनसम्मका दृष्यले रास्वपाका नेताहरु आफ्नो चर्चाका लागि मात्र गरिरहेका छन भन्ने छ्याङ्गै पारिदिएको छ । जुन कुराले अव आन्दोलन गयल भैस पानीमे जस्तो अवस्थामा पुगेको छ ।

पलेटी मार्दै संसदमै नाटक

आन्दोलनको दाबी गर्ने रास्वपाका सांसदहरू संसदमा पलेटी मारेर बस्ने र केहीबेर नाराबाजी गर्ने परिपाटीमा सीमित छन् । प्रतिपक्षको सार्थक आन्दोलन भनेको विकल्प दिन सक्ने र जनतालाई नतिजा दिन सक्ने सङ्घर्ष हो । तर रास्वपाको आन्दोलन न त गम्भीरतापूर्ण छ, न त्यसको दीर्घकालीन रणनीति नै छ । उठेर विरोध जनाउन नसकेपछि रास्वपाका सांसदहरू संसदमा पलेटी मारेर बसे । पलेटी मारेर पनि दिनभरि बस्न गाह्रो भएपछि केहीबेर हल्ला गर्ने र संसद् भवनबाट बाहिरिने रणनीति रास्वपा सांसदहरूले लिएका छन् ।

संसदमा चर्को स्वर गर्ने रास्वपाका सांसदहरूको स्वर बिस्तारै मधुरो सुनिन लागेको छ । प्रतिनिधि सभामा उनीहरूको उपस्थिति नै पातलिन लागेको छ । यतिसम्म कि सांसदहरूले संसद्को प्रदर्शनलाई निरन्तरता दिन नसक्दा प्रतिनिधिसभामा रास्वपाको उपस्थिति नै कमजोर भएको छ । आन्दोलनका बेला संसद भवन बाहिरिनु, भित्र नबसेर फोटो सेसनका लागि मात्रै नाराबाजी गर्नु जस्ता गतिविधिले रास्वपा आन्दोलनप्रति गम्भीर छैन भन्ने सङ्केत दिन्छ ।

नीति र संगठनात्मक अनुशासनको अभाव

रास्वपाले मुद्दा उठाउँदा त्यसलाई कसरी अगाडि बढाउने भन्ने रणनीति नभएकाले आन्दोलन सुरु पनि भयो, सकियो पनि भन्ने शैलीमा सीमित भएको छ । यथास्थितिमा रास्वपाको संसदभित्रको व्यवहारले संसद्लाई नै खेलौना बनाउने काम गरिरहेको छ । एकातिर मुद्दा उठाउने, अर्कोतिर त्यो मुद्दाको गहिराइ र समग्र पक्षको मूल्याङ्कन नगर्ने कार्यशैलीले रास्वपाको अपरिपक्वता झल्किएको छ । अझ आफ्ना अध्यक्ष आफैँ अनेक मुद्दामा मुछिएको बेला उसले उठाएको नैतिकताको बहस जनताले ग्रहण गर्न सक्ने खालको देखिएन ।

जनविश्वास गुमाउँदै रास्वपा

चुनावको बेलामा लोकप्रिय कुरा गरेर जनताको लोकप्रियता बटुलेको रास्वपा अहिले गम्भीर संकटमा छ । त्याग, निष्ठा र नयाँपनको नारा बोकेर संसद् प्रवेश गरेको यो पार्टी हाल पुरानै शैलीमा सीमित देखिन थालेको छ । सांसदहरूको निरन्तर विदेश मोह, गैरजिम्मेवार शैली, आन्दोलनको नाममा ‘फेसबुकिया नाराबाजी’ र सार्थक निष्कर्षमा पुग्न नसक्ने अवस्था जनताले हेरेका छन् ।
संसदमा जब विपक्षको भूमिका कमजोर हुन्छ, सरकारलाई उत्तरदायी बनाउने प्रक्रिया पनि कमजोर हुन्छ ।

रास्वपाले उठाएको मुद्दा अब त्यही पार्टीका लागि घाँटीको पासो बन्ने खतरा देखिएको छ । संसद् अवरोध गर्दा रास्वपाले जनतामा जगाएको अपेक्षा अहिले निराशामा परिणत हुन थालेको छ । संसदमा बोल्ने शैली, मुद्दा उठाउने शैली र त्यसलाई कार्यान्वयनमा ल्याउने क्षमताको अभावले गर्दा पार्टी राजनीतिक दिशाहीनताको सङ्घारमा उभिएको छ ।

मुद्दा होइन, मुद्दा उठाउने शैलीको विफलता

रास्वपाको अहिलेको सङ्कट मुद्दाको होइन, मुद्दा उठाउने शैली र त्यसलाई अगाडि बढाउने नेतृत्व क्षमताको सङ्कट हो । मुद्दा उठाउने तर त्यसको मूल्याङ्कन नगर्ने, समर्थन जुटाउन नसक्ने, संगठन भित्र अनुशासन कायम गर्न नसक्ने अवस्थाले पार्टीलाई कमजोर बनाइरहेको छ । रास्वपालाई आफ्नै मुद्दा काम्लोमा मुछिएको सातु जस्तै भएर न खान सकिने, न फाल्न सकिने अवस्थामा पुगेको छ ।

जनताको आँखामा आफूलाई नयाँ विकल्पका रूपमा प्रस्तुत गर्ने पार्टीका लागि अहिलेको प्रदर्शन नैतिक र राजनीतिक दुवै दृष्टिकोणबाट असफलताको उदाहरण बन्न थालेको छ । रास्वपाले संसदमा अब के गर्छ ? त्यस्ले नै उसको राजनीतिक भविष्यको बाटो निर्देश गर्नेछ ।