जनता टाइम्स

८ असार २०८२, आईतवार १८:४४

कायापलटको कथा: खाँडादेवी मन्दिर अब आस्थासँगै व्यवस्थापनको नमुना बन्दै (फोटाे फिचर)


नवराज पथिक 

रामेछाप, ८ असार । कुनै बेला ढुङ्गा-माटोको गाह्रो र जस्ताको छानोले ढाकिएको रामेछापको ऐतिहासिक धार्मिक शक्ति पीठ खाँडादेवी मन्दिरले अहिले आफ्नो काँचुली फेरेको छ ।

आजभन्दा १० वर्ष अघिसम्म पनि न कुनै प्रचार थियो, न कुनै व्यवस्थापन नै वरिपरिका मानिसहरू दशैँको बेलामा दर्शन गर्न र बलि चढाउन मन्दिरमा आउने गर्दथे । टाढाका खाँडादेवीका महिमा सुनको केही मानिसहरू मन्दिरमा दर्शन गर्न आइपुग्थे । जेनतेन स्थानीय पुजारीहरूले मन्दिरको नित्य पूजा धानेका थिए ।

१० वर्षको बिचमा खाँडादेवी मन्दिरमा कायापलट भएको छ । मन्दिरको पुरातत्त्व नखलबलिने गरी अत्याधुनिक मन्दिर बनेको छ । पूजा गर्ने र बलि दिने व्यवस्थित ठाउँ बनेका छन् । नयाँ सत्तल बनेको छ । यज्ञ कुण्ड, विश्राम स्थल लगायतका संरचना बनेका छन् । मन्दिरसम्म जाने दुईतर्फबाट लामा सिँढीहरू बनेका छन् । बगैँचा, पानी सबै व्यवस्था छ । भक्तजनहरूलाई बस्न होमस्टेहरू बनेका छन् । पूजा सामाग्री बिक्री गर्ने पसलहरू खुलेका छन् । यसबाट स्थानीयले पनि दुईचार पैसा कमाएका छन्, मन्दिरमा दर्शन गर्न जानेलाई पनि सहज भएको छ । मन्दिरको यो स्वरूपले गरे हुन्छ भन्ने उदाहरण पेस गरेको छ ।

मन्दिरमा दर्शन गर्न जानको लाइन व्यवस्थापनको लागि दैनिक स्वयंसेवकहरू परिचालन हुने गरेका छन् । बलि पूजा लैजानेलाई रसिद दिएर शुल्क लिई पूजा व्यवस्था मिलाइएको छ । तलब दिएरै पुजारी राखिएको छ । भक्तजन र दर्शनार्थीले गरेको सहयोग र चढाएको भेटी सबैको हिसाब किताब राख्ने गरिएको छ । आर्थिक कारोबारलाई भरसक पारदर्शी बनाउने प्रयास गरिएको छ ।

सयौँ वर्ष पुरानो जीवित इतिहास बोकेको खाँडादेवी विभिन्न कालखण्डमा ढल्दै, उठ्दै अहिलेको अवस्थामा आएको हो । अस्तव्यस्त र अव्यवस्थाको बिचमा गुज्रिँदै आएको खाँडादेवी मन्दिर जब मन्दिर संरक्षणको लागि खाँडादेवी विकास कोष बन्यो त्यस पछि नयाँ स्वरूपमा उठ्यो ।

२०७० सालमा कोष स्थापना भएपछि खाँडादेवी विकास कोषकै पहलमा पुरातत्त्व विभागले पुरातात्विक हिसाबले खाँडादेवीको मन्दिर, पाटी, मन्दिर परिसर पुनर्निर्माण गरिदियो । विकास कोषले पनि व्यवस्थापन लगायत साना साना संरचना निर्माण र मर्मतको काम गर्दै आएको कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ ।

रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नं २ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनको काम अहिले विकास कोषले गर्दै आएको छ । मन्दिरको नयाँ संरचना निर्माण र यसको महिमाको प्रचार भएपछि अहिले देशभरिबाट दर्शनार्थीहरु खाँडादेवीको दर्शन गर्न आउन लागेका कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ । ‘नेपालबाट मात्र होइन भारतबाट पनि दर्शन गर्ने मानिसहरू आउन लागेका छन्’, तामाङले भन्नुभयो ।

मन्दिरको प्रचार र व्यवस्थापन भएपछि बडा दशैँ र चैते दशैँमा मात्र दर्शनार्थीहरु देखिन खाँडादेवी मन्दिरमा अहिले दैनिक मानिसहरू आउन लागेका छन् । हरेक हप्ताको शनिबार त दर्शनार्थीको घुइँचो नै लाग्ने गर्दछ ।

खाँडादेवीलाई निक्कै पौराणिक र ऐतिहासिक मन्दिर मानिन्छ । यसको चर्चा देवी भागवत महापुराण र शिवपुराणको हिमवत् खण्डमा पनि गरिएको छ ।

मन्दिर विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला दरबारले चढाएको सुन र चाँदीको जन्तर पनि सुरक्षित छन् ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।

अहिले खाँडादेवी विकास कोषले बडादशैँ र चैते दशैँमा कोषको तर्फबाट यो पूजा गर्दै आएको छ ।

खाँडादेवी मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बनेको छ । दुवै धर्म मान्ने मानिसहरू यहाँ दर्शन र पूजा गर्न आउने गर्दछन् । अझ यो मन्दिरका पुजारी नै तामाङहरू भएकाले पनि यसले धार्मिक, जातीय र सामाजिक सहिष्णुतालाई थप बलियो बनाएको छ ।