जनता टाइम्स

८ असार २०८२, आईतवार २०:४०

सांसद अमरेश सिंहको अभिव्यक्ति प्रति अनेरास्ववियुको आपत्ति, संसदबाट निलम्बन गर्न माग


काठमाडौं, ८ असार । अनेरास्ववियुले स्वतन्त्र सांसद अमरेश कुमार सिंहको संसदमा व्यक्त अभिव्यक्तिलाई देशघाती भन्दै गम्भीर आपत्ति जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाद्वारा जारी विज्ञप्तिमा सिंहको अभिव्यक्तिलाई संघीय संसदको गरिमा र नेपालको सार्वभौमिकतामाथि गरिएको सीधा प्रहारको रूपमा लिइएको छ । ‘सार्वभौम नेपालको सर्वोच्च थलो संघीय संसदको रोस्टम प्रयोग गरी सांसद अमरेश कुमार सिंहले दिएका देशघाती अभिव्यक्तिप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो किसिमको गैरजिम्मेवार र राष्ट्रको अस्तित्वमाथि प्रहार गर्ने अभिव्यक्तिलाई अनेरास्ववियु कडा शब्दमा भत्र्सना गर्दछ।’

अनेरास्ववियुले सांसद सिंहसँग तुरुन्तै अभिव्यक्ति फिर्ता लिनुका साथै सम्पूर्ण नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । अन्यथा राष्ट्रघाती प्रवृत्तिको प्रतिकारमा आफूहरू जुनसुकै कदम चाल्न तयार रहने चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिमा सभामुख देवराज घिमिरेसँग सांसद सिंहलाई संसदबाट तत्काल निलम्बन गर्न समेत माग गरिएको छ । ‘राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र गरिमामय संसदको रक्षा गर्नु सम्पूर्ण राष्ट्रभक्तको कर्तव्य हो, यसमा कुनै सम्झौता हुन सक्दैन’, विज्ञप्तिमा उल्लेख छ ।

सांसद सिंहले बजेट छलफलको क्रममा केही जिल्लामा मात्रै विकासको ध्यान दिइएको भन्दै बाँकी ७२ जिल्लालाई भारत, चीन वा अमेरिकालाई लिजमा दिन सकिने अभिव्यक्ति दिनुभएको थियो । जसको चौतर्फी आलोचना भइरहेको छ । सभामुखले उहाँको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिइसक्नु भएको छ ।