काठमाडौं, ८ असार । लुम्बिनी प्रदेश सभा सदस्य तथा जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुर मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
पर्सा प्रहरीका अनुसार रायमाझी फरार देखिएपछि जेठ १६ गते अदालतबाट पक्राउ अनुमति लिइएको हो। सो आदेशअनुसार असार ३ गते पर्सा प्रहरीले बर्दिया प्रहरीलाई रायमाझीलाई खोजी गरी पक्राउ गरी बुझाइदिन पत्राचार गरेको छ।
हाल बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ बसोबास गर्ने रायमाझीलाई अदालतको आदेशमा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।
रायमाझीमाथि जनमत पार्टीकी अर्की नेतृ आशा कुमारी चौहानले बैङ्किङ कसुरमा उजुरी दिएकी थिइन्। चौहानका अनुसार रायमाझीले ५ लाख ५० हजार रुपैँया सापटी लिएर चेक दिएकी थिइन्, तर चेक साट्न जाँदा रकम नभएको देखिएपछि चेक बाउन्स भएको हो ।
पर्सा जिल्ला अदालतबाट जारी आदेशमा रायमाझीलाई कानुनअनुसार पक्राउ गरी घरमा खानतलासी समेत गरेर अनुसन्धानमा सहयोग गर्न भनिएको छ । ‘प्रतिवादी सुमन शर्मा रायमाझी भएको बैङ्किङ सम्बन्धी कसुर मुद्दामा अनुसन्धान तथा तहकिकातको सिलसिलामा वारदात पश्चात् भागी फरार रहेका निम्न स्थान बस्ने निम्न प्रतिवादीलाई खोज तलास तथा पक्राउ गरी मुद्दाको अनुसन्धान कार्य पुरा गर्न हुन भनी श्री पर्सा जिल्ला अदालत वीरगंज पर्साबाट मिति ०८२ । ०२ । १६ गतेको पत्रद्वारा अनुमति प्रदान भई आएको हुँदा निम्न स्थान बस्ने निम्न प्रतिवादीलाई निजको घर ठेगानामा गई खोज तलास तथा पक्राउ गरी निजको घर समेतमा कानुन बमोजिम खानतलासी तथा बरामदी मुचुल्का गरी यस कार्यालयमा दाखिला गरी दिनुहुन अनुरोध गरिएको छ । जिल्ला बर्दिया गुलरिया नपा वडा नं ५ मा बस्ने निर्मल रायमाझीको श्रीमती वर्ष ४५ की सुमन शर्मा रायमाझी’, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक शैलेन्द्र कुमार खडकाले पठाउनु भएको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्