जनता टाइम्स

८ असार २०८२, आईतवार १७:२१

प्रधानमन्त्रीसँग भेट्न पाएकोमा अभियन्ता नवराज बोहराद्वारा खुसी व्यक्त : अब दारी काट्ने, जुत्ता पनि लगाएर नयाँ स्वरुपमा अघि बढ्ने


काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट्नुभएको छ ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुग्नुभएको थियो ।

सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज भेट पाउनुभएको हो । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताउनुभयो ।