जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार १८:३१

नसालु पदार्थ खुवाएर भान्जी बलात्कार गर्दै मोवाइलमा तस्विर खिचेपछि…


बझाङ, असोज १२ । आफ्नै सहोदर भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केहीवर्ष अघिदेखि नै मामाले लगातार गर्दै आएको तथ्य खुलेपछि पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पीडितका भाईले मोवाइल चलाउँदा दुवै जना नांगो अवस्थामा देखेपछि यो घटना बाहिर आएको हो । पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै ती मामाले पटक–पटक बलात्कार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिनुभयो । बलात्कारीमाथि प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान अघि बढाएको छ । कक्षा ९ मा अध्ययनरत ती बालिकामाथि बलात्कार गर्ने मामाको उमेर ६३ वर्ष रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको अनुसार अभियुक्तले जुस जस्तो झोलिलो पदार्थमा नसालु वस्तु हालेर लठ्ठाएर बेहोस बनाएर बलात्कार गर्ने गरेका थिए । उनले भान्जीको मोबाइलमा केही अश्लिल तस्बिरसमेत खिचेका थिए । गत हप्ता बालिकाको भाइले पीडित बालिकाको मोबाइल चलाउन खोज्दा लक खोल्न नजानेपछि एक जना छिमेकीको सहयोग मागे । छिमेकीले उनको मोबाइल खोल्दा अश्लिल तस्बिरहरु देखेपछि तस्बिरसहित प्रहरीलाई खबर गरेका थिए ।

ती मामाले बालिकालाई नग्न बनाएर सेल्फी फोटोहरु भान्जीकै मोबाइलमा खिचेका थिए । तस्बिरमा बालिका पूर्ण बेहोस अवस्थामा देखिन्छिन भने पीडक पूर्णहोसमा रहेको देखिन्छ । भान्जी बलात्कारको आरोपमा पक्राउ परेका यी वृद्ध २०७२ साल मंसिरमा पनि बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । १४ वर्षीय बालिकाको बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनले सोही अभियोगमा १६ महिना कैद भुक्तान गरेर २०७४ सालमा छुटेका थिए ।

उच्च अदालत दिपायलले सोही अभियोगमा उनलाई चार वर्ष थप सजायको फैसला गरेको थियो । यो मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । त्यसबेला उनले छिमेकी छोरी नाता पर्ने साविक भैरवनाथ गाविसमा कक्षा ६ पढ्ने एक बालिकालाई बलात्कार गरेका थिए ।