जनता टाइम्स

२ जेष्ठ २०८१, बुधबार १४:४१

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔँ, समानुपातिकलाई राष्ट्रिय सभामा व्यवस्थित गरौँ : सचिव भट्टराई


काठमाडौं, २ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले यही निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्वको सम्भावना कम भएको बताउनुभएको छ । अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी महोत्सवमा आयोजित कार्यक्रममा आजको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको जिकिर गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘संसदले प्रधानमन्त्री बनाउँछ भने त्यो संसदले कस्तो प्रधानमन्त्री बनाउँछ ? संसदले बहुमत भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछ कि पाँच छ ओटा दल मिलेर प्रधानमन्त्री बनाउँछ ? आजको व्यवस्था यही हो । आजको व्यवस्थामा जाने हो भने त्यो पार्टीसँग बहुमत हुने ग्यारेन्टी के हुन्छ ? त्यो त हामीले भन्न सकिँदैन । अहिले एमाले वा कांग्रेसको बहुमत आइहाल्ने अवस्था छैन । त्यसो भए गठबन्धन भइहाल्छ त्यो चुनावअघि गर्ने कि चुनावपछि ?’

उहाँले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीबाट जाने अर्को विकल्प पनि हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘संविधान निर्माणको बेलामा एमालेको धारणा राष्ट्रपति सेरेमोनियल बनाऔँ, प्रधानमन्त्री प्रत्यक्ष चुनिएर आउने बनाऔँ, त्यो हुँदा स्थायित्व होला भन्ने हाम्रो त्यो बेलामा प्रस्ताव थियो । अहिले यही व्यवस्थामा जाने भए हामीले जुन–जुन निर्वाचन प्रणाली थपेका छौँ, त्यसको अर्को विकल्प भनेको प्रत्यक्ष निर्वाचित हुने संसदीय व्यवस्था, सांसदहरू प्रत्यक्ष निर्वाचित हुने, समानुपातिकलाई राष्ट्रियसभामा व्यवस्थित गरौँ । आजको निर्वाचन प्रणालीले बहुमत ल्याउने सम्भावना छ । त्यसैले बहुमत प्राप्त प्रधानमन्त्री दिने सम्भावना पनि छ ।’

आज पनि भूराजनीतिक प्रभावले शासकीय प्रणाली र स्थायित्वलाई असर गरिरहेको बताउनुभयो । उहाँले थप्नुभयो,‘कांग्रेस र प्रचण्डजीबीच द्वन्द्व बढ्यो, मुलुक भड्खालोमा जान लाग्यो, सदनलाई ०८४ सम्मको जनतालाई म्यान्डिनेट दिएका छन्, त्यसलाई रोक्न समर्थन गरेका हौं । यसले कतिको राजनीतिक स्थायित्व दिन्छ अहिले भन्न सकिँदैन । हामीले कोसिस गर्ने हो ।’