जनता टाइम्स

१ असार २०८१, शनिबार १८:४८

कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट, यस्ता छन मुख्य प्राथमिकता (पूर्णपाठ)


बिराटनगर, असार १ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज प्रदेश सभामा सो परिमाणको बजेट प्रस्तुत गर्नुभएको हो ।

आज प्रस्तुत बजेट चालू आर्थिक वर्षको भन्दा एक अर्ब कम आकारको रहेको छ । चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ ।

बजेटको स्रोततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ करोड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदानमा आधारित रहेको छ । बजेटमा कृषि उत्पादकत्व वृद्धि गर्ने, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ ।

यस्तै कृषिमा व्यावसायिकरणका लागि कृषि ऋणको व्याजमा सहुलियत दिने व्यवस्था बजेटमा गरिएको छ भने आगामी आर्थिक वर्षबाट कृषि अनुदान निरुत्साहित गर्ने योजना अघि बढाइएको छ । यस्तै बजेटमा पसुमा लाग्ने खोरेत रोग निर्मुल गर्ने घोषणा गरिएको छ । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न संघीय सरकारसँग समन्वय गरेर काम गर्ने घोषणा पनि बजेटमार्फत गरिएको छ ।

यस्तै बहुबर्षीय तथा नयाँ भौतिक पूर्वाधार विकासका लागि१० अर्ब ५१ बजेट विनियोजन गरिएको छ भने भूमिगत सिँचाइका लागि सरकारले २० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै विद्युतीय चार्जिङ स्टेसनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा कोशी प्रदेश सरकारले एक घर एक धाराको योजना पनि अघि सारेको छ । जसका लागि एक अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ करोड रुपैयाँ विनियोजन भएको छ । बजेटमा बालबालिकाको उपचारका लागि सरकारले प्रदेश मातहतका अस्पतालमा मात्रै सेवा प्रवाह गर्ने घोषणा गरिएको छ । स्वास्थ्य क्षेत्रमा सरकारले ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै सामाजिक क्षेत्रको विकासका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ ।

(बजेटको पूर्णपाठ)