जनता टाइम्स

२४ असार २०८२, मंगलवार ११:३०

रसुवाको बाढीले २ सय मेगावाट विद्युत उत्पादन बन्द


काठमाडौं, २४ असार। रसुवामा आएको भीषण बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका प्रमुख जलविद्युत् आयोजनाहरूको करिब २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

प्राधिकरणका अनुसार  १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको छ । त्यस्तै, सोही आयोजनासँग जोडिएको पुल चर्किएर आवतजावत नै बन्द भएको छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि ठूलो मात्रामा गेग्रान (माटो, ढुंगा आदि) थुप्रिएको छ । यद्यपि पावरहाउसमा भने क्षति नभएको बताइएको छ । आयोजना मर्मत नगरी सञ्चालन हुन नसक्ने अवस्था छ ।

यसैगरी ६० मेगावाट क्षमताको त्रिशूली ३ ए जलविद्युत् आयोजनामा पनि बाढी पसेको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि मुख्य भवनमा पानी पसिसकेको पुष्टि भएको छ । त्रिशूली ३ बी सबस्टेसन हिलोले छोपिएको र विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको प्राधिकरणले जनाएको छ ।

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी छरेको भए पनि धेरै क्षति भने नभएको जनाइएकाे छ । तर त्रिशूली किनारमा रहेको एक बाइपास टावर भने बाढीले बगाएको पुष्टि भएको छ । जसले प्रसारण प्रणालीमा समेत समस्या सिर्जना गरेको छ ।

यी सबै आयोजनाको उत्पादन बन्द हुँदा त्रिशूली करिडोरमा रहेका नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट करिब २ सय मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ ।

देशको ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान दिने आयोजनाहरू बन्द हुँदा राष्ट्रिय ग्रिडमा तत्काल असर पर्ने सम्भावना रहेको ऊर्जा विज्ञहरू बताउँछन् । स्थिति सामान्य पार्न समय लाग्ने देखिएको छ ।