जनता टाइम्स

५ असार २०८१, बुधबार १०:३८

संसद भवन बानेश्वरमा कार्यरत सुरक्षाकर्मीले गरे आफ्नै निधारमा गोली हानी आत्महत्या


काठमाडौं, असार ५ । संघीय संसद् सचिवालय बानेश्वरमा सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले आफैमाथि गोली हानी आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले रहेका छन । गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार प्रहरी जवान गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका हुन ।

गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । उनले किन गोली हानी आत्महत्या गरे भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।