जनता टाइम्स

४ असार २०८२, बुधबार १७:१२

विष्णु पौडेलको प्रश्नको धमाधम जवाफ दिन थाले जिम्मेवारीविहीन बनेका एमाले नेता–कार्यकर्ता


काठमाडौं, असार ४ ।

नेकपा एमालेका युवा नेताहरूले पार्टीबाट सबैलाई समान व्यवहार हुन नसकेको कारण नै जनसंगठनदेखि देशभरका कार्यकर्तामा उत्साह हराएको बताएका छन् ।

एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुधवार आयोजित जनसंगठनको विस्तारित बैठकमा किन उत्साह हराउँदै गएको छ भन्ने प्रश्न राखेपछि युवा संघ, अनेरास्ववियुलगायतका जनसंगठनमा प्रतिस्पर्धा गरेर पराजित भएका नेता कार्यकर्ताले जवाफ फर्काएका हुन ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले जनसंगठनहरुको बैठकमा एमाले कार्यकर्तामा किन उत्साह हराउँदै गएको छ भन्ने प्रश्न गर्नुभएको थियो । इञ्चार्ज, निवर्तमान अध्यक्ष र अध्यक्षहरू सहभागी बैठकमा पौडेलले पार्टी महाधिवेशन र नेतृत्वको विषयमा मुख खोल्दै समय आएपछि सही ढङ्गबाट समाधान हुने तथा पार्टीको काबूभन्दा बाहिरको अवस्थामा समस्या नरहेको प्रष्ट पार्नुभयो । उत्साह गराउन थालेको र जाँगर हराउँदै गएको भन्ने पौडेलको भनाई प्रति सबैभन्दा पहिला राष्ट्रिय युवा संघ नेपालमा अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित हुनुभएका पूर्वमहासचिव सुमन पुरी र अनेरास्ववयुमा अध्यक्षमा पराजित प्रकाश पौडेलले जवाफ फर्काउनु भएको छ ।

दुवै नेता समूह बनाएर चुनावमा गए पनि पराजित हुनुभएको थियो । पराजित पौडेल र पुरीले पार्टी नेताहरूले ‘आधिकारिक र अनधिकृत’ भन्ने व्याख्या गरेर आफूहरूमाथि गम्भीर अपमान गरेको आरोप लगाउँदै आउनुभएको छ । उपाध्यक्ष पौडेलको प्रश्न बाहिरिए लगत्तै युवा संघका पूर्वमहासचिव पुरीले जवाफ दिँदै भन्नुभएको छ, ‘ नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने जिम्मेवारी अब हामी युवाको काँधमा छ । पार्टीलाई सशक्त बनाउने, जनमत विस्तार गर्ने र राष्ट्रनिर्माणको यात्रामा नेतृत्वदायी भूमिका नै आजको आवश्यकता हो ।’

उपाध्यक्ष पौडेलकै गृह जिल्ला रुपन्देहीका पुरीले सिधै नभनी घुमाएर भन्नुभएको छ । अनेरास्ववियुका पूर्वसचिव तथा अध्यक्षमा डा. सुजन कडरियासँग ७ मतले पराजित प्रकाश पौडेलले भने सिधै झटारो हान्नुभएको छ ।

पौडेलले लेख्नुभएको छ, ‘आजभोलि हाम्रो पार्टीका नेताहरूले सार्वजनिक मञ्चमा बोलेको सुन्छु–’पहिले सिठी फुक्दा हजारौँ कार्यकर्ता भेला हुन्थे, तर आजभोलि त्यसो हुँदैन ।’ अझै पनि यस्तै रवैया कायम राख्दै, आफ्नै कार्यकर्तालाई ‘आधिकारिक’ र ‘अनाधिकारिक’ भन्दै विभाजन गर्ने र स्वच्छ प्रतिस्पर्धाबाट वञ्चित गर्ने योजना अघि बढाइरहने हो भने–भोलि ‘मरे मरे’ भनेर गुहार माग्दा पनि कार्यकर्ताहरू आउन रुचि राख्ने छैनन् । तपाईँहरू त नबदलिनुहोला, तर समय र कार्यकर्ताहरू भने फराकिलो सोच राख्दै, जनताको बहुदलीय जनवाद मान्दै आफैँ सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेका छन् ।’

युवा संघ र अखिलदेखि निर्वाचन भएका र निर्वाचन नभए पनि नेतृत्वको आकाङ्क्षा राखेर बाहिरिएका सबैजसो नेता कार्यकर्ताले यो प्रश्नको जवाफमा नेताहरूलाई नै जिम्मेवार ठहर्‍याएका छन् ।