जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार ०७:४३

चीनसँग हरेक विषयमा कनेक्टिभिटी खोज्नुपर्छ : खनाल


काठमाडौँ, असोज १८ 

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुनु ठूलो अवसर भएकाले परराष्ट्र मन्त्रालयले गम्भीरतापूर्वक तयारी गर्नुपर्ने बताउनुभएको छ । मुलुकको महत्वपूर्ण कुरा भएकाले सुरक्षाको सन्दर्भमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने औँल्याउनुहुँदै गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले भ्रमणलाई सफल बनाउन कुनै कदम बाँकी राख्नु हुँदैन भन्नुभयो । उहाँसँगको कुराकानी :-

व्यग्र प्रतीक्षामा छौँ

नेपाल र चीन दुईवटा छिमेकी मुलुक हुन् । दुवै देश हिमालयबाट जोडिएका छन् । पहाड र पर्वतबाट जोडिएका छन् । नदी र नालाबाट जोडिएका छन् । अनेकन महìवपूर्ण ‘इकोलोजिकल जोन’हरूबाट जोडिएका छन् । जनता मात्र एकआपसमा आवतजावत गर्दैनन्, सीमाबाट हाम्रा अनेकन महत्वपूर्ण वन्यजन्तुहरू, चराचुरुङ्गीहरू पनि आउने–जाने गर्छन् ।

प्राचीनकालदेखि नै हाम्रो सम्बन्ध चीनसँग रहिआएको छ । हामीले प्राचीनकालदेखि नै यो सम्बन्धलाई निरन्तर विकास गर्दै आइरहेका छौँ । यो सम्बन्ध विकास गर्ने क्रममा अनेकन ऐतिहासिक व्यक्तित्वले महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । जस्तै– अरनिको, भृकुटी र विभिन्नले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हाम्रो देशबाट बुद्धिजमको सुरुआत भयो । यसले पनि दुई देशलाई धार्मिक तथा सांस्कृतिक रूपले घनिष्ठता बनाएको छ ।

सामाजिक, सांस्कृतिक र अन्य सबै क्षेत्रमा हाम्रो देशमा सम्बन्ध विकसित हुँदै आएको पाइन्छ । यी सम्बन्धलाई थप विकास गर्ने क्रममा सन् १९५५ अगस्ट १ मा औपचारिक द्विपक्षीय सम्बन्ध कायम ग¥यौँ । यो दौत्य सम्बन्ध कायम भएपछि दुई देशको सम्बन्ध नयाँ उचाइमा उठेका छन् । लामो अवधिको मैत्री सम्बन्धका बीचमा अनेकन पक्षहरूमा बहुआयामिक सहयोगहरू विकसित भइरहेका छन् ।

तयारीमा ध्यान पुर्याऊँ

उच्चस्तरमा चीनबाट नेपाल भ्रमण नभएको निकै समय भएको छ । खासगरी नेपालका नेता र सरकार प्रमुखको भ्रमण हुने क्रम जारी छ । हाम्रो देशका राष्ट्रपतिको केही समयअघि चीन भ्रमण भयो । अनि प्रधानमन्त्रीको भ्रमण भएको छ । विदेशमन्त्रीको भ्रमण भएको छ तर चीनको तर्फबाट सरकारको उच्चस्तरको नेताको नेपाल भ्रमण निकै लामो समयदेखि थाती रहेको अवस्था छ ।

सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको भ्रमण सम्पन्न भएको थियो । त्यो भ्रमणपछि फेरि हामीले अर्को राष्ट्रपतिलाई धेरै समय पर्खनु परेको छ । हामी नेपाली साँच्चै नै चीनका राष्ट्रपतिको भ्रमणको व्यग्र रूपले प्रतीक्षामा छौँ । अब यसपटक राष्ट्रपति सीको भ्रमण दुई देशको सम्बन्धको इतिहासकै धेरै महत्वपूर्ण भ्रमण हुनेछ ।

दुई देशबीचमा पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध रहिआएको छ । त्यसै आधारमा हाम्रा सरसहयोगहरू पनि बढ्दै आइरहेका छन् । तिनै सरसहयोगलाई थप उचाइमा पु¥याउने कुरामा महामहिम राष्ट्रपति सीको भ्रमणले योगदान गर्नेछ भन्ने मलाई लाग्छ ।

अहिले नेपाल पनि आफ्नो विकासको एउटा नयाँ उचाइमा आइपुगेको छ । हामीले २०६२÷६३ को परिवर्तन गरेका छौँ । १० वर्ष लगाएर भए पनि नयाँ संविधान निर्माण गरेका छौँ । आमनिर्वाचनमार्फत तीन तहका सरकार हामीले गठन गरेका छौँ । केन्द्रमा मात्रै पनि करिब दुई तिहाइको बहुमतको सरकार छ ।

यो सरकार नयाँ नीतिका कार्यक्रमका साथ विकासमा लागेको छ । यो नयाँ निर्माण गर्ने काममा लागिरहँदा हाम्रासामु विकास र निर्माणलाई अगाडि लाने धेरै महत्वपूर्ण कार्यसूची छन् । ती कार्यसूचीकै बारेमा यसपटक राष्ट्रपति सीको नेपाल भ्रमणका सन्दर्भमा बढी मात्रामा कुराकानी हुनेछ । हाम्रो विकास र निर्माण नै अबको मुख्य कार्यसूची भएको हुनाले कसरी चीनजस्तो विकसित मुलुक जो संसारको दोस्रो आर्थिक महाशक्ति राष्ट्रको दिशामा तीव्र रूपले अगाडि बढिरहेको छ । ठूला सफलताहरू प्राप्त गरिरहेको छ ।

जनगणतन्त्र स्थापनाको ७०औँ वार्षिकीका अवसरमा जुन किसिमको आफ्नो उपलब्धिको चर्चा चीनले गरिरहेको छ, ती अभूतपूर्व छन् । विश्व हल्लाउने किसिमका परिवर्तन भएका छन् । चीनका यस्ता महत्वपूर्ण उपलब्धिबाट पनि नेपालले लाभ लिन सक्नुपर्छ । चीनले प्राप्त गरेका ती अभूतपूर्व अनुभवबाट नेपालले सिक्नुपर्ने अवस्था छ । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राख्दै हामीले दुई देशबीचका सम्बन्ध र सहयोगलाई अगाडि बढाउन छलफल गर्नुपर्छ भन्ने लाग्छ ।

खुलापन देखाउनुपर्छ

चीनजस्तो एउटा विशाल शक्तिका राष्ट्रपतिसँग कुराकानी गरिरहँदा स्वाभाविक रूपले हाम्रा देशका कार्यसूची आउँछन् । ती विकासका कार्यसूची भनेको अहिले राजमार्ग निर्माण गरिरहेका छौँ, त्यसको प्रस्ताव गर्नुपर्ने हुन्छ । त्यसैगरी हामी हाम्रो जलस्रोतको विकास गरिरहेका छौँ । विभिन्न जलविद्युत् योजनाका कुरा अघि बढाउनु पर्छ । हाम्रो देशमा प्रचूर मात्रामा जलविद्युत् उत्पादन हुनसक्छ र हामी छिमेकी देशहरूसँग त्यो जलविद्युत् प्रसारण गर्न सक्छौँ । त्यसका लागि ट्रान्समिसन लाइनको कुरामा जोड दिनसक्छौँ ।

अहिले विश्वमा कनेक्टिभिटीको कुरा अत्यन्त जोडदार रूपमा उठिरहेको छ । नेपाल र चीनका बीचमा पनि ‘कनेक्टिभिटी’लाई जोड दिनुपर्ने आवश्यकता छ । सडक ‘कनेक्टिभिटी’ले मात्र पुग्दैन । हामीलाई विद्युत् र दूरसञ्चार ‘कनेक्टिभिटी’ मात्रले पनि पुग्दैन, ‘रेलवे कनेक्टिभिटी’ पनि चाहिन्छ । यो रेलवे ‘कनेक्टिभिटी’ अहिले एउटा दुई देशका बीचमा अत्यन्त महत्वपूर्ण मुद्दाका रूपमा रहिरहेको छ । यीबाहेक अन्य विभिन्न शैक्षिक क्षेत्रमा विश्वविद्यालय निर्माण गर्ने कुरामा पनि सहकार्यका लागि छलफल गर्न सक्छौँ ।

काठमाडौँको चक्रपथ निर्माण गर्ने काममा पनि चीनको सहयोग छ । बाहिरी चक्रपथ निर्माणको क्रममा पनि चीनको सहयोगको अपेक्षा नेपालले लिनुपर्ने हुन्छ । यस्ता विविध क्षेत्रहरूमा दुई देशका बीचमा विकासका सम्भावना छन् । ध्यान केन्द्रित गरेर वार्तामा खुलापन देखाउनुपर्छ ।

चीन र नेपालको व्यापार सम्बन्ध धेरै लामो समयदेखि कायम छ । हामीले किराँतकालदेखि नै सम्बन्धलाई विकास गर्दै आएका छौँ । व्यापारिक सम्बन्धका क्षेत्रमा विकासका जुन व्यापक सम्भावना छन्, तिनलाई केलाउन र उपयोग गर्ने वातावरण बनाउनु पर्छ । दुई देशको व्यापारमा अझै पनि हामी घाटामा छौँ । त्यो घाटालाई पुरताल गर्न चीनले धेरै ठूलो सहुलियत घोषणा गरेको छ । आठ हजारभन्दा बढी वस्तुको भन्सार शुल्क निःशुल्क गरे पनि ती वस्तु चीनमा निकास गर्न सकेका छैनौँ, जसका लागि नेपालका उद्यमी, व्यापारीले पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।

प्रखर नेता सी

राष्ट्रपति सी वास्तवमा चिनियाँ समाजवादबाट विकास गरिएका विभिन्न नेतामध्ये अलि बढी प्रखर र दूरदृष्टि भएका नेताका रूपमा मैले देख्छु । उहाँले सन् २०१३ देखि अहिले २०१९ सम्मको शासनकालमा चीनको समाजवादी आधुनिकीकरणको प्रक्रिया अगाडि बढाउने सिलसिलामा माक्र्सवाद लेनिनवादका सिद्धान्तलाई चीनको वास्तविकतामा सफलतापूर्वक नेतृत्व गर्नुभएको छ ।

नेतृत्व गर्ने सिलसिलामा उहाँले जुन प्रकारका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य अगाडि सार्नुभएको छ र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई विकास गर्ने सिलसिलामा जुन प्रकारले ती कुराको सम्मुच्च रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले उहाँका विचारलाई सी जिनपिङ विचारधाराका रूपमा परिभाषित गरेको छ । यी सबै काम गर्ने कुरामा उहाँका लोकप्रियता अत्यन्त महìवपूर्ण बनेको छ ।

उहाँ चीनका आम जनतासामु अत्यन्त लोकप्रिय र विद्वान् राष्ट्रपतिमध्येका एक हुनुहुन्छ । उहाँ चीनका विभिन्न ठाउँमा भ्रमण गरेर यथार्थ स्थिति बुझिरहने नेताका रूपमा पनि देखा पर्नुभएको छ । सी विचारधारा भनेको माक्र्सवाद लेनिनवादका आधारभूत सिद्धान्तलाई चीनको समाजवादी आधुनिकीकरणको प्रक्रियामा लागू गर्दा विकसित भएका कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र लक्ष्यहरूको समुच्च हो । यो माक्र्सवाद लेनिनवादकै एउटा रूप हो । सी जिनपिङ विचारधाराका बारेमा नेपालका कम्युनिस्टले प्रशिक्षण लिए भनेर केही समय अगाडि यहाँ हल्ला चल्यो । यो हल्लाभन्दा बढ्ता केही पनि हैन, चीनको कम्युनिस्ट पार्टी र नेपालको कम्युनिस्ट पार्टी बीचका सन् १९५० को दशकदेखि नै राम्रो सम्बन्ध रहिआएको छ ।

हामी यति लामो समयदेखि दुईवटा पार्टी भाइचाराको सम्बन्धमा छौँ । हामीले एकले अर्काबाट निरन्तर सिक्दै आइरहेका छौँ । सम्बन्धलाई निर्वाह गर्नेक्रममा यसपटक चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नतेृत्वमा चिनियाँ प्रतिनिधिमण्डलले भ्रमण गर्यो र हाम्रो पार्टीसँग वार्ता, अनुभव र विचारको आदानप्रदान गर्यो । त्यसले दुईवटा पार्टीबीचको सम्बन्ध राम्रो बनेको छ तर चिनियाँ कम्युनिस्ट पार्टीले यहाँ आएर नेपाल कम्युनिस्ट पार्टीलाई प्रशिक्षण गरेको होइन ।

त्यसैले सी विचारधारा भनेको वैचारिक कुरा पनि हो । राजनीतिक कुरा पनि हो । आर्थिक कुरा पनि हो । यो बीआरआईसँग पनि सम्बन्धित छ र यो विश्वदर्शनसँग पनि सम्बन्धित छ । त्यसकारण यो कुनै खास विचारधारासँग मात्र सम्बद्ध छैन, अलिक व्यापक छ । विस्तृत छ । आक्षेप लगाउनेले के कुरा बुझ्न सकेनन् भने विश्वमा दुई सय देश छन् । हरेक देशमा आफ्नै कम्युनिस्ट पार्टी छन् । तीमध्ये चिनियाँ कम्युनिष्ट पार्टी एउटा पार्टीमात्रै हो ।

अबको दुनियाँमा कुनै एउटा पार्टीले एक्लै हिँड्न सम्भव छैन । त्यसरी चिनियाँ कम्युनिस्ट पार्टीले पनि अरूलाई प्रशिक्षण गर्ने कुरा सम्बन्धको विकास गर्नेसँग जोडिएको छ । हाम्रो पार्टीले पनि विश्वका डेढ सय बढी कम्युनिस्ट पार्टीसँग सम्बन्ध विकसित गरेको छ । आफ्नो स्वतन्त्र कार्यदिशा, नीति र कार्यक्रमका आधारमा आफ्नो देशको क्रान्ति वा निर्माणको काममा हामी लागिरहेका छौँ ।

सी विचारधाराजस्तै भनिने पूर्वएमालेले विकसित गरेको जनताको बहुलवादलाई हाल नेपालको कम्युनिस्ट पार्टीले मुल्तबीमा राखेको छ । पार्टीमा त्यसबारेमा बहस र छलफल बनाए पनि पार्टीको मार्गदर्शन यही भनेर तोकिएको छैन । माक्र्सवाद र लेनिनवाद नै मुख्य सिद्धान्त छ ।

नेपाल चीन र भारतजस्तो दुई ठूला मुलुकका बीचमा रहेको यथार्थ छ । यस्तो अवस्थालाई ध्यानमा राखेर दुवैतिर सन्तुलित गरेर लानुपर्ने आवश्यकता छ । हाम्रा सम्बन्धको भित्री आयाम बलियो बनाउने तर बाह्य सन्तुलनका सिद्धान्तअनुसार सम्बन्ध विकासको सन्देश यस भ्रमणका क्रममा दिनुपर्छ । यसले हाम्रो देशको राष्ट्रिय हितलाई प्रवद्र्धन गर्न सघाउँछ ।

विश्वका कुनै पनि देशलाई मैत्रीपूर्ण विकास गर्नका लागि हामी निरन्तर प्रयत्नशील छौँ । अब यो विश्वमा कुनै पनि एउटा देश अर्को देशको शत्रु हुन सक्दैन । हाम्रो देशका निम्ति विश्वका सबै देश मित्र देश हुन् । सम्बन्धलाई गहिरो बनाउन, व्यापक बनाउन, समुन्नत बनाउन र विकसित गर्न दृढ प्रतीक्षामा छौँ । (गोरखापत्र)