काठमाडौं, भदौ ३ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र अहिले पनि चुनौतीको बीचबाट गुज्रिरहेको बताउनुभएको छ ।
आइतबार ‘दिगो आर्थिक विकासका लागि नीतिगत सुधार’ विषयक अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान नगराएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारीका अवसर सिर्जना नगरेसम्म, लगानी वृद्धि र लगानी आकर्षण नगरेसम्म अर्थतन्त्रमा सोचे जस्तो सुधार हुन नसक्ने बताउनुभयो ।
वर्तमान सरकार बनेदेखि यता अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपायका विषयमा नै ध्यान केन्द्रित गरिएको पौडेलले स्पष्ट पार्नुभयो । तत्कालीक, मध्यकालीन र दीर्घकालीन रूपमा अर्थतन्त्रका समस्या समाधान गर्ने कदम सरकारले चालिरहेको उहाँले जानकारी दिनुभयो ।
वर्तमान सरकार बन्नु अघि आमजनतामा एक खालको निराशा बढेकोले सरकारको काम आशा जगाउने हो भन्दै आएको उहाँले बताउनुभयो । नागरिकमा आशा नजगाउने हो भने कुनै पनि कुरामा उपलब्धि प्राप्त नहुने पौडेलले बताउनुभयो । ‘हाम्रो पहिलो प्राथमिकता निराशा चिर्ने हुनुपर्छ, आशा जगाउने हुनुपर्छ’, उहाँले भन्नुभयो ।
सरकारका क्रियाकलापले नागरिकमा केही आशा र उत्साह जागेको उहाँले बताउनुभयो । यसले अर्थतन्त्रलाई चलायमान गराउन सहयोग गर्ने पौडेलको विश्वास छ ।
सरकारले लिएको नीतिको कारण शेयर बजार उत्साहित भएको पौडेलले बताउनुभयो । ‘सरकारका पहलकदमीले गर्दा केही सकारात्मक सन्देश हामी देख्न सक्छौँ’, उहाँले भन्नुभयो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको साउन महिनामा २० प्रतिशत बढिले राजश्व संकलन भएको, नौ गुनाले पुँजीगत खर्च वृद्धि भएको, घर जग्गाको कारोबारमा वृद्धि भएको लगायतका उदाहरण पौडेलले प्रस्तुत गर्नुभयो ।
उहाले यिनै प्रगतिमा सरकार चित्त बुझाएर बस्ने अवस्थामा नरहेको बताउँदै अझ धेरै काम गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
निजी क्षेत्र अर्थतन्त्रको महत्पूर्ण क्षेत्र भएकोले सरकार सहकार्य गरेर एउटै प्रवाह अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई विश्वास दिलाउने गरी सरकारले काम गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । ‘अहिलेको सरकार निजी क्षेत्रको अभिभावको भूमिकामा छ’, पौडेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्