काठमाडौं, असोज ३० । गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलनको ब्यवस्थापनको कमजोरीलाई लिएर अध्यक्षका उम्मेद्वारद्य कुमार पन्त र कुल आचार्यले प्रतिनिधिसँग माफी माग्नुभएको छ । कमजोर ब्यवस्थापन भन्दै प्रतिनिधि तोडफोडमा उत्रनुका साथै मतदान नै नगरी फर्कन थालेपछि पन्त र आचार्यले नेतृत्वको कमजोरी स्वीकार गर्दै माफी माग्नुभएको हो । सम्मेलनमा अव्यवस्थितका साथै प्रतिनिधिको हर्कतलाई लिएर अध्यक्षका उम्मेदवारद्वय पन्त र आचार्यले माफी माग्नुभएको हो ।
पास भएन विधान र आर्थिक प्रतिवेदन
एनआरएन विश्व सम्मेलनको बन्दसत्रबाट आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव नै पारित हुन सकेको छैन । प्रवक्ता भूषण घिमिरेले प्रतिवेदनमा केही विषय मिलाउन बाँकी रहेकाले हाललाई प्रतिवेदनपछि पास गर्नेगरी मतदान प्रक्रियामा गएको बताउनु भयो । आर्थिक प्रतिवेदनमा संघ ऋणमा रहेको देखाइएपछि पारित हुन नसकेको हो । कोषाध्यक्षको गोलमालपूर्ण अडिट गरिएको प्रतिवेदनमा संस्था करिब ७ करोड ऋणमा रहेको देखिएको हो । एनआरएनले लाप्राक बस्ती, एनआरएन भवन निर्माण लगायतका ठूला परियोजना सञ्चालन गर्दा ठूलो रकम खर्च भएको भन्दै संस्था ऋणमा गएको प्रतिवेदनमा देखाइएको छ ।
राजनीतिक भ्रातृ सङ्गठनको जस्तो चुनाव
सन् २००३ मा गैरराजनीतिक सङ्गठनको रूपमा स्थापना भएको एनआरएनमा नवौँ विश्व सम्मेलनसम्म आइपुग्दा राजनीतिक ध्रुवमा बाँडिएको छ । सङ्घमा राजनीतीकरण भएकै कारण संस्थापक अध्यक्ष उपेन्द्र महतोले बहिष्कार गर्नुभएको छ । गैरराजनीतिक सङ्गठनमा राजनीति हाबी हुँदा संस्थाले बोकेको उद्देश्य नै छायामा पर्नसक्ने भन्दै सङ्घमा राजनीति मिसाउन नहुने महतोको अडान छ ।
महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको सङ्घलाई राजनीतिक पार्टीको भ्रातृ सङ्गठनजस्तो बनाउन नहुने धारणा राख्दै आउनुभएको छ । तर, नवौँ विश्व सम्मेलनबाट नेतृत्वका आकांक्षी प्यानल नै बनाएर चुनावी प्रक्रियामा होमिएका हुन ।
प्रतिक्रिया दिनुहोस्