काठमाडौँ, बैशाख २८। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबारे गरेका टिप्पणीलाई तपाई के बोल्दै हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जालमा आइतबार पोखरेलले तथ्यहरू एकातिर तर प्रचण्डको बोली अर्कोतिर भएकाले कुण्ठाबाहेक केही नभएको बाताउनु भएकाे छ ।
महासचिव पोखरेलले प्रचण्डलाई उद्धृत गर्दै लेख्नुभएकने छ, ‘तथ्यहरूले तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ ।’ तथ्यका रूपमा पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको समयमा भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको तथ्य पनि उहाँले खोल्नुभएको छ ।
‘निर्माण व्यवसायीलाई काम बापतको तपाई नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ । निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा –मुग्लिङ सडक, गैँडाकोट– बुटवल सडक आदी’, उदाहरण दिँदै पोखरेलले प्रचण्डले भ्रम छरेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै उनले भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि स्रोतको व्यवस्था भएको, वैंकको तरलता वृद्धि भएको र ब्याजदर घटेको अनि लगानी वृद्धि हुन थालेको बताउनु भएको छ ।
‘कानुन निर्माणको कामले तीव्रता पाएको छ, कानुनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ’, पोखरेलले भन्नुभएको छ, ‘कानुन कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।’
साथै उनले भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको र सरकारको स्थायित्वको आधार तयार भएको पनि बताउनु भएको छ । ‘उपरोक्त कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’, पोखरेलले प्रचण्डलाई प्रश्न सोध्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्