काठमाडौं, कात्तिक १०
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु भएको छ । अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली आज विहान स्वदेश फर्कनु भएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका मन्त्रीहरुले स्वागत गर्नुभएको थियो । कात्तिक ८ र ९ गते भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।
यसअघि बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका यातायात, सञ्चार तथा उच्च प्रविधिमन्त्री रमीन गुलुजादे, उपविदेशमन्त्री रामिज हुसेनोभ र विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुले बिदाइ गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्