जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार १६:२४

पोखरामा नारी दिवस मनाइयो


लेखनाथ, फागुन २४ । नारी दिवसका अवसरमा अन्तरराष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा आज पोखरामा प्रभातफेरी गरिएको छ । पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानुनी व्यवस्थाकै कारण तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको बताउनुभयो ।

महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानुनी सुधार र नीति लागू गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मन्त्री थापाको भनाइ छ । राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गड्तौला, गैरसरकारी संस्था महासङ्घ प्रदेशका उपाध्यक्ष पदम पहारीलगायतले समानता र महिला अधिकार प्रत्याभूत गराउनका लागि उपलब्ध कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुुभएको थियो ।