जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार १९:०३

रेशम चौधरी पक्राउ प्रकरणबारे गृहमन्त्री भन्नुभयो यस्तो


काठमाडौं, २५ वैशाख। गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको कुनै आग्रह पूर्वाग्रह नरहेको जवाफ दिनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा चौधरी पक्राउको विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले कानूनको कार्यान्वयन गर्नेबाहेक कुनै मनसाय नभएको जानकारी गराउनुभयो । गएको वैशाख १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पत्र लिएर प्रहरी प्रधान कार्यालयमा पुगेपछि आईजीपीलाई परिचयपत्र देखाएर ‘अदालतको आदेश कार्यान्वयन गर्न आएको’ भनेपछि पक्राउ गर्नुपर्ने अवस्था आएको उहाँले संसद‍्मा जानकारी दिनुभयो । साथै उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबैलाई सचेत र सजग बनाएको अनि चौधरीसहित परिवारलाई भएको पीडाप्रति दुःख व्यक्त गर्नुभयो ।

गएको १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ पर्नुभएको थियो । तर सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको पाइएपछि उहाँ ५ घण्टा डिल्लीबजार कारागार बसेर छुट्नुभएको थियो ।