काठमाडौं, असोज ८। भोटेकोशी बाढीका कारण त्रिशूली नदीका पुल बगेपछि स्वास्थ्य सेवामा पहुँच कठिन भएका नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिकामा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ।
विदुरस्थित पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका केही कोठा व्यवस्थापन गरी स्थापना गरिएको चार शय्याको आकस्मिक स्वास्थ्य केन्द्रको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शुभारम्भ गर्नुभएको हो। प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा केन्द्रबाट आकस्मिक, बहिरङ्ग तथा प्रसूति सेवासमेत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री थापाले विपद्का कारण नागरिकलाई स्वास्थ्य उपचारबाट वञ्चित हुन नदिन प्रदेश सरकारले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरिरहेको बताउनुभयो। उहाँले परिस्थितिको व्यवस्थापन गर्दै स्थानीयस्तरमै स्वास्थ्य सेवा सुरु गरिएको उल्लेख गर्नुभयो। ‘परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ, अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ,’ मुख्यमन्त्री थापाले भन्नुभयो।
उहाँका अनुसार पुल बगेपछि प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै डब्लुएचओको सहयोगमा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो परामर्श सेवा पनि सुरु गरिएको छ।

मुख्यमन्त्री थापाले स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। आवश्यकताअनुसार अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी खटाउने र त्यसबाट समेत जनशक्ति अपुग भए करारमा स्वास्थ्यकर्मी नियुक्त गर्न बजेट व्यवस्थापन गरिने उहाँले बताउनुभयो।
भोटेकोशीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा पुल बगेपछि विदुर र बेलकोटगढीलगायत क्षेत्रका नागरिकलाई त्रिशूली अस्पतालसम्म पुग्न कठिनाइ भएको छ। सडक तथा पुलको पहुँच अवरुद्ध भएपछि सामान्य उपचारका लागिसमेत काठमाडौं जानुपर्ने अवस्था सिर्जना भएको थियो।
पाँच स्थानमा तत्काल झोलुङ्गे पुल निर्माण गरिने
स्वास्थ्य सेवा सञ्चालनसँगै मुख्यमन्त्री थापाले बाढीका कारण विच्छेद भएको सडक तथा पुलको सम्पर्क पुनर्स्थापना गर्ने योजना पनि सार्वजनिक गर्नुभएको छ।
उहाँले रसुवादेखि नुवाकोटसम्म अति आवश्यक पाँच स्थानमा तत्काल झोलुङ्गे पुल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। पुल निर्माणका लागि छोटो अवधिको बोलपत्र आह्वान गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो। ‘रसुवादेखि नुवाकोटसम्मका अति आवश्यक पाँच स्थानमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छु,’ मुख्यमन्त्री थापाले भन्नुभयो।
बाढीका कारण पुल तथा सडक बग्दा प्रभावित बस्तीका नागरिकलाई आवतजावत, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा स्वास्थ्य सेवा लिन समस्या भइरहेको छ। स्थानीय जनप्रतिनिधिले पनि विदुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रमा बेलिब्रिज जडान गरी आवागमन सहज बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।

मुख्यमन्त्री थापाका अनुसार बागमती प्रदेश सरकारसँग उपलब्ध ५०–५० मिटर लम्बाइका दुई बेलिब्रिज एक साताभित्र जडानका लागि तयार हुनेछन्। स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका आधारमा ती बेलिब्रिज दुई स्थानमा जडान गरिने उहाँले बताउनुभयो।
यसै गरी नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिजसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। तत्कालका लागि अस्थायी पुलबाट यातायात सम्पर्क जोड्ने र दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणको अध्ययनसमेत अघि बढाइने उहाँको भनाइ छ।
पुल निर्माण नभएका स्थानमा तत्काल वैकल्पिक सडक खोल्ने कामसमेत अघि बढाइएको मुख्यमन्त्री थापाले बताउनुभयो। त्यसका लागि पूर्वमुख्यमन्त्री तथा अन्य जनप्रतिनिधिबाट प्राप्त सुझावलाई आधार बनाइएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियाे ।












प्रतिक्रिया दिनुहोस्