जनता टाइम्स

६ बैशाख २०८२, शनिबार ०७:५५

सञ्चारिका समूहको पदाधिकारीमा प्रेस चौतारी र युनियनको प्यानल विजयी, माओवादी-राजावादी प्यानल पत्तासाफ


काठमाडौं, बैशाख ६ । सञ्चारिका समूहको पदाधिकारीमा नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको छ । शनिवार बिहान सम्पन्न निर्वाचनमा चौतारी युनियनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कमला पन्थी निर्वाचित हुनुभएको छ ।

पन्थीले १४९ मत प्राप्त गरेर निर्वाचित हुदाँ निकटतम प्रतिस्पर्धी माओवादी निकट प्रेस सेन्टरको समर्थनमा उम्मेद्वार बन्नुभएकी पवित्रा सुनारले ८७ मत प्राप्त गर्नुभएको छ । प्रेस चौतारी निकट रहेकी पन्थी अघिल्लो पटक अध्यक्ष बिमला तुम्खेवासँग पराजित हुनुभएको थियो । प्रेस चौतारीकी तत्कालिन केन्द्रीय सदस्य समेत रहेकी सुनार सञ्चारिका समूहकी वर्तमान उपाध्यक्ष हुनुहुन्छ । सुनारलाई बिरोधी गठबन्धनको मतियार बनेर संगठनबिरोधी गतिबिधिमा लागेको भन्दै प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ ।

यस्तै उपाध्यक्षमा १२८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित हुदाँ उहाँका निकटतम प्रतिस्पर्धा लोग्शरी कुँवरले सय मत प्राप्त गर्नुभयो । कुँवर यस अघि सञ्चारिका समूहकी कार्यसमिति सदस्य हुनुहुन्थ्यो प्रेस चौतारीकी तत्कालिन सचिव समेत हुनुुन्थ्यो । कुवँरलाई पनि प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ भने पार्टीको साधरण सदस्यमेत नहरने गरी कार्वाही गर्न नेकपा एमालेमा सिफारिश गरेको छ ।

सञ्चारिका समूहको महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित हुदाँ सचिवमा उर्वसी बस्न्यात १०७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नुनुता राई १०३ मत प्राप्त गर्नुभएको छ । बस्न्यात राईसँग सबैभन्दा कम ४ मतान्तरले मात्रै बिजयी भएकी हुनुभएको छ । निर्वाचित बस्न्यात प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य हुनुहुन्छ भने् राई प्रेस सेन्टरकी नेतृ हुनुहुन्छ ।

यस्तै कोषाध्यक्षमा साजना तामाङ १२० मत प्राप्त गर्न निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गर्नुभएको छ । सञ्चारिका समूहको ८ जना सदस्यमा भने अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित हुनुभएको छ । जसमध्ये चापागाई र रेग्मी प्रेस चौतारी निकट पत्रकार भए पनि माओवादी निकट प्रेस सेन्टरतिर लाग्नुभएको थियो । संगठनबिरुद्ध बागी उम्मेदवारी दिएको र माओवादी गठबन्धनमा सामेल भएको भन्दै प्रेस चौतारीले दुबै जनालाई संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ ।

सञ्चारिका समुहको निर्वाचनमा प्रेस चैतारी र प्रेस युनियनको प्यानलबिरुद्ध माओवादी, राजावादी, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसकै अराजकवादी र डलरवादीको प्यानल बनाइएको थियो । सो समुहमा सञ्चारिककाकै अध्यक्ष बिमला तुम्खेवा, राजाको समयमा श्री ५ महाराजधिराजकी जय भन्दै लोकतन्त्रको लागि आन्दोलन गर्ने पत्रकारबिरुद्ध बिष बमन गर्ने नेपाल टेलिभिजनकी अनिता बिन्दु तुलाधर र शेरबहादुर देउवाको नाममा राजनीति गर्दै आउनु भएका नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देलसम्म हुनुहुन्थ्यो ।