जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार २१:५३

अनेरास्ववियु महाधिवेशन : दुवै प्रतिवेदन पारित, मंगलवार निर्वाचन


काठमाडौं, जेठ २६ । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बन्दसत्रका कार्यक्रम अन्तर्गत आज तीनवटा प्रतिवेदन पास भएका छन् ।

हिजो उद्घाटन भएको महाधिवेशनमा उद्घाटन सत्रको कार्यक्रम सकिएपछि राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिएको थियो । ती प्रतिवेदन माथि समूहगत छलफल गरी सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

ढुङ्गेलका अनुसार आजको बन्दसत्रले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई पनि पास गरेको छ । यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गर्ने निर्णय महाधिवेशनले गरेको छ ।

अब अनेरास्ववियुमा अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग हुने भएका छन् । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने भएका छन् ।

अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने भएका छन् । महाधिवेशनका अन्य काम सकिएको बताउँदै ढुङ्गेलले अब नेतृत्व चयनको काम मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

भोलि बिहान ८ बजेबाट कार्यक्रम सुरु हुने र त्यस पछि निर्वाचनको प्रक्रियामा जाने उहाँले बताउनुभयो । ‘निर्वाचन आयोगले आन्तरिक काम त गरिरहेको छ, भोलि बिहान ८ बजे अध्यक्ष मण्डलले कार्यक्रम सुरु गरेपछि निर्वाचनको प्रक्रिया अगाडि बढ्छ’, उहाँले भन्नुभयो ।

अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ । त्यसलाई अन्तिम क्षणसम्म पनि निरन्तरता दिने अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहनुभएको ढुङ्गेलले बताउनुभयो । ‘अहिले पनि अनौपचारिक छलफल भइरहेकै छ, मनोनयन दर्ता गरेपछि पनि छलफल हुन्छ, सहमति भएन भने पनि मतदान प्रक्रियामा गएर नेतृत्वका टुङ्गो लगाइन्छ’, उहाँले भन्नुभयो ।