काठमाडौं, बैशाख ६ । नेकपा एकीकृत समाजवादीकी नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनमा रमिता बढी भएको टिप्पणी गर्नुभएको छ । नेतृ झाँक्रीले शिक्षक तथा कर्मचारीहरुले सडकमा रमिता देखाएको आफ्नो निश्कर्ष पनि सुनाउनु भएको छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुलाई झाँक्रीले प्रश्न गर्नुभएको छ, ‘के ऐन सडकबाट पास हुने हो र ? ‘शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउन आफूले प्रयास गरेको तर शिक्षकहरुले संवाद नै नगर्ने भनेको झाँक्रीको भनाइ छ ।
‘उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिले नै पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौं भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?’ झाँक्रीले फेसबुकमार्फत सोध्नुभएको छ, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ?’
भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विधार्थीको भविश्य अन्यौल बनाउन नमिल्ने पनि उहाँको भनाई छ । निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको भन्दै झाँक्रीले प्रश्न सोध्नुभएको छ, ‘यहाँहरूले पढाएका कयौं विद्यालयको बीएलईको रिजल्ट शून्य छ । के यो विषयमा चिन्तित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ ?’
उहाँले शिक्षा विधेयक संसदीय समितिमा छलफलमा भएको भन्दै समितिले पास गरेपछि संसदमा जाने र पास हुने उल्लेख गर्दै विद्यालयमा फर्किन शिक्षकहरुलाई अनुरोध पनि गर्नुभएको छ । ‘ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ । सरोकारवाला सबैको चासो पनि छ । शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किनभने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ,’ उहाँले भन्नुभएको छ ।
‘विधेयक समितिमा दफावार छलफलमा छ । विधेयक संशोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ । समितिले पास गरेपछि हाउसमा जान्छ । सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ । सर-मेडमहरू अब विधालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसदलाई विश्वास गर्नुस,’ झाँक्रीले लेख्नुभएको छ ।
यस्तै उहाँले दलका अन्य नेताहरुलाई शिक्षक तथा कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धताको रमिता नगर्न समेत सुझाउनु भएको छ । केही समयदेखि दलका नेताहरु नै दोहोरो भूमिकामा रहेको तथ्यलाई उजागर गर्दै पूर्वमन्त्री झाँक्रीले शिक्षक र कर्मचारीको आन्दोलनमा ऐक्यबद्धताको रमिता नगर्न सुझाव दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्