काठमाडौं, बैशाख ८ । पूर्वअध्यक्ष शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा हुने महाधिवेशन नरोकिने प्रष्ट पारेको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गरी समितिले यस्तो निर्णय सुनाएको हो ।
घले नेतृत्वको उच्चस्तरीय समितिले सोमवार पत्रकार सम्मेलन गरी संघमा ६३ हजार ३ सय ३९ जना सदस्य भएको जनाएको छ । समितिका अनुसार अधिवेशनका लागि अहिलेसम्म २ हजार ७ सय ७२ जनाले डेलिगेट्स हुन चाहेका छन । पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक एव एनआरएनएका पूर्वअध्यक्ष घलेले दैवी प्रकोप र काबुभन्दा बाहिरको परिस्थितिबाहेक अधिवेशन नरोकिने बताउनु भयो ।
घलेले आफूहरूको संघर्ष संस्थालाई कसरी सुधार्ने भन्ने रहेको भन्दै बिगतमा एनआरएनए बिभाजन गरेको कुराको बचाउ गर्नुभयो । ’हामी अब पुरानो एनआरएनएमा फर्किने होइन । नयाँ एनआरएनए बनाउने हाम्रो अभियान हो,’ घलेले भन्नुभयो, ’२२ वर्षमा एनआरएनएका ९० हजार सदस्य भएकोमा डेढ महिनामै हाम्रो अभियानमा झण्डै ७० हजारले चाहना राख्नु सानो कुरा होइन ।’
एनआरउनए बिभाजनको नेतृत्व घलेले नै गर्नुभएको आरोप लाग्दै आएको छ । उहाँले नै आफ्नी पत्नीलाई अध्यक्ष बनाउन एनआरएनए बिभाजन गर्नुभएको आरोप छ । पछिल्लो पटक डा. बद्री केसीसँग अध्यक्षमा चुनाव हारेपछि कुल आचार्य र रबिना थापा पनि घलेकै शरणमा पग्नुभएको आरोप छ । पूर्वअध्यक्ष घलेले आफूहरू अदालतको परमादेशका आधारमा चलेको भन्दै मिति संशोधन हुने वा तलमाथि गर्ने छुट कसैलाई नहुने बताउनु भयो ।
एनआरएनएको अधिवेशनका लागि राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अधिवेशन गर्नैपर्छ भन्ने केही नरहेको उहाँले बताउनु भयो । केही देशमा बाहेक धेरै देशमा एनसिसीहरू दर्ता नै नभइकन चलेकाले उनीहरूको सहभागिता हुनु÷नहुनुले अर्थ नराख्ने घलेको दावी छ । उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले चुनाव जित्नको लागि आफू अनुकूल सदस्य बनाउँदा अहिलेको समस्या आएको तर्क गर्नुभयो । विगतमा अनलाइन भोटिङ गर्न हुँदैन भन्ने पक्षमा आफू रहे पनि अनलाइन भोटिङ गरिएका कारण अहिलेको समस्या आएको आचार्यको भनाइ छ ।
उच्चस्तरीय समितिका अर्का सदस्य बिनोद कुँवरले एकता महाधिवेशन हुँदैन भनेर अनेक हल्ला फैलाइएको तर गरेरै छाडने बताउनु भयो । ’कहिले एनसिसीको अधिवेशन भएकै छैन, कहिले के भएको छैन कसरी अधिवेशन हुन्छ भनेर भ्रम फैलाइएको छ । एनसिसीहरू आफैमा स्वायत्त रहेकाले उनीहरूको अधिवेशन जुलाइमा हुने हो,’ कुँवरले भन्नुभयो, ’अक्टोबरमा हुने महाधिवेशन विशेष परिस्थितिले मे ३ देखि ५ मा हुन लागेको हो । त्यसैले कुनै किसिमको हल्ला र भ्रममा नपरिकन एकताको अधिवेशन सफल बनाउन म सबैसँग अपिल गर्छु ।’
उच्चस्तरीय समितिकी सदस्य जानकी गुरूङले सर्वोच्च अदालतको परमादेश अनि फैसला कार्यान्वयन निर्देशनालयको पत्रपछि पनि आफूहरूले कार्यालयमा काम गर्न नपाएको बताउनु भयो । कानुनलाई हातमा लिनेहरूका कारण बाहिर बसेरै काम गर्दा पनि उत्साहजनक उपस्थिति रहेको उहाँको दाबी छ ।
समितिकी सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिकी संयोजक रविना थापाले एकता महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेर तीव्र ढंगले काम भइरहेको बताउनु भयो । उहाँले थप समय खेर नफाली अधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको बताउनु भयो ।
महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरू भइसकेकाले महाधेशनलाई सफल पार्न सबैसँग आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा समितिकै सदस्य रहनुभएका संघका अध्यक्ष डा. बद्री केसी भने सहभागी हुनुभएन । केसीबिरुद्ध घलेसहित हाल समितिमा रहेका सवै लाग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्