जनता टाइम्स

२९ बैशाख २०८२, सोमबार ०९:२५

समतामूलक-न्यायपूर्ण र सभ्य समाज निर्माणतर्फ अग्रसर हुनु पूर्वराष्ट्रपति भण्डारीकाे आह्वान


काठमाडौं, बैशाख २९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवन र कर्ममा शान्ति, सहिष्णुता र दयाको भावना अँगाल्दै समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणतर्फ अग्रसर हुनु सबैमा आह्वान गर्नुभएको छ ।

२५६९ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले नेपालमा जन्मनुभएका गौतमबद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाउनुभएको बताउनुभएको छ ।

बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

भण्डारीले किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै भण्डारीले किराँत समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा झल्काउने उभौली पर्वले प्रकृतिसँगको सहअस्तित्व, ऋतुसँगको तालमेल र समाजसँगको समन्वय अमूल्य सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभएको छ ।