जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १२:१५

रोशी खोलाले बगाएको बिपी राजमार्ग केही बेरमा नै सञ्चालन हुने 


रामेछाप, बैशाख ३० । वर्षा र बाढीका कारण अवरुद्ध बिपी राजमार्ग केही समयमा नै खुल्ने भएको छ ।

सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्‍याएको थियो ।

ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो ।

असोज महिनामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बताउँदै उहाँले एक घण्टाको बिचमा दुई तर्फी नै सडक सञ्चालन हुने जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा बिपी राजमार्ग हुँदै काठमाडाै‌ंबाट पूर्व जाने सवारी साधनहरू रोकिएका छन् ।‘ पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो, बढीमा एक घण्टामा सडक सञ्चालन हुन्छ’, याेगेशले भन्नुभयो।

बिपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक निर्माणको काम भइरहेको छ । अन्यत्र काम सकिएको भए पनि सो स्थानमा केही काम बाँकी रहेको योगेशले बताउनुभयो । सोही ठाउँमा बाढीले क्षति पुर्याएकाे उहाँले बताउनुभयो ।