जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार ०९:३०

प्रकाशराज पाण्डेको सगरमाथा आरोहण र सगरमाथा संवादको संयोग 


काठमाडौं, २ जेठ। संयोग नै भन्नुपर्छ, रामेछापका प्रकाशराज पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको दिन र सगरमाथा संवादको दिन एकै दिन परेछ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ का प्रकाशराज पाण्डेले सन् २०१८ को आजकै दिन अर्थात् मे १६ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । विश्वका ७ महादेशका सात ठुला हिमाल आरोहण गर्ने लक्ष बोकेका प्रकाश सन् २०१८ को आजकै दिन बिहान धर्तीको सबैभन्दा अग्लो ठाउँमा पुग्नु भएको थियो ।

आज त्यही सगरमाथा र हिमाल बचाउने विषयमा संवाद गर्न विश्व समुदाय काठमाडौंमा जुटेको छ । विश्वका विभिन्न देशका १ सय ७५ बढी पाहुनाहरू सगरमाथा संवादका लागि काठमाडौंमा भेला भएका छन् । संयुक्त राष्ट्रसंघका प्रतिनिधि सहितका वातावरण विज्ञहरूले हिमाल जोगाउने विषयमा संवाद मार्फत विश्वको ध्यान अकर्षण गर्ने छन् ।  संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संस्थाहरूले भग लिँदै छन् ।

हिमालको सुरक्षाका विषयमा हिमालको देश नेपालमा छलफल हुनु निक्कै महत्पूर्ण विषय भएको पाण्डे बताउनुहुन्छ । आफूले सगरमाथा आरोहण गरेको दिन र सगरमाथा संवादको दिन एकै दिन पर्नु आफ्नोलागि निक्कै खुसीको क्षण भएको पाण्डेले सुनाउनुभयो । सगरमाथा संवादमा हिमालको सुरक्षाको विषयका साथै पर्वतारोहीको सम्मान, सुरक्षा र प्रोत्साहनका विषयमा पनि छलफल सहित महत्त्वपूर्ण निर्णय हुने उहाँको विश्वास छ । ‘नेपालका पर्वतारोहीहरू बिस्तारै पलायन हुँदै छन्, उनीहरूलाई प्रोत्साहित र संरक्षण गर्ने योजना पनि आवश्यक छ’, उहाँले भन्नुभयो ।

२०१६ बाट हिमाल आरोहण सुरु गर्नुभएका प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा सहित चारवटा महादेशका सबैभन्दा अग्ला हिमाल आरोहण गरिसक्नु भएको छ । उहाँ अब पाँचौँ महादेशको हिमाल आरोहणको तयारीमा हुनुहुन्छ ।

आउने सेप्टेम्मबरमा इण्डोनेसियाको कार्टेन्स पिरामिड चढ्ने तयारीमा प्रकाश हुनुहुन्छ । विश्वका सबै महादेशका अग्ला हिमाल आरोहण पछि पुनः सगरमाथा आरोहण गर्ने योजना प्रकाशको छ ।

प्रकाशले गएको फरबरी ६ मा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाले माउण्ट ओकान्कागुवा आरोहण गर्नुभएको थियो । यस अघि पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस, अफ्रिकाको किलिमञ्जारो आरोहण गरिसक्नु भयो छ । अब उत्तर अमेरिका, अष्ट्रेलिया र एन्टारर्टिका महादेशका सर्वोच्च शिखर आरोहण गर्न बाँकी छ ।

पाण्डेले २०१६ मा स्काउटको नाममा नामकरण भएको उर्गेमा हिमाल चढ्नु भएको थियो । त्यस पछि उहाँले २०१७ मा  सोलुको आइल्याण्ड हिमाल आरोहण गर्नुभयो । २०१८ को मे १६ को बिहान ११ः३० बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्नु भयो ।

पाण्डेले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको समेत सफल आरोहण गरिसक्नु भएको छ । पाण्डेले आमादब्लम लगायतका हिमचुचुरालाई चुमिसक्नु भएको छ ।

सातवटै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएका प्रकाशले सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गर्नुभयो ।

आफूले हिमाल चढ्ने अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरका बारे विश्व समुदायको ध्यानाकर्षण गराउन चाहेको प्रकाश बताउनुहुन्छ । वातावरण परिवर्तनले हिमाललाई पारको प्रभाव रोक्न विश्व समुदायलाई दबाब दिने उहाँको लक्ष छ । सोही लक्षका साथ सगरमाथा संवाद हुनु आफ्नो एजेण्डाको जीत भएको प्रकाश बताउनहुन्छ ।