जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार ०३:२६

मदन भण्डारी : नेपालका कार्लमार्क्स


नवराज पथिक

विश्वभर कम्युनिष्ट आन्दोलन कमजोर हुँदै थियो । विश्व कम्युनिष्ट आन्दोलनलाई जोगाई राख्ने धौ धौ परिरहेको अवस्था थियो । सोभियत संघको पतनको सङ्घारमा थियो । सन् १९८० को दशकको अन्त्यतिर सोभियत संघ गहिरो आर्थिक, सामाजिक र राजनीतिक संकटमा थियो । सोभियत संघमा मिखाइल गोर्भाचोभको खुलापन र पुनर्निर्माण नीति लागू भइरहेको थियो । तर यी सुधारले कम्युनिष्ट शासनको सुदृढीकरण गर्नुको सट्टा कमजोर  हुँदै गएको थियो । सन् १९९१ मा सोभियत संघ पूर्ण रूपमा विघटन भयो ।

उता पूर्वी युरोपमा पनि समाजवाद पतन हुँदै थियो । सन् १९८९–९० ताका पूर्वी युरोपका अधिकांश कम्युनिष्ट सरकारहरू पतन भए । जर्मनीमा बर्लिनको पर्खाल भत्कियो । पोल्याण्ड, हंगेरी, चेकोस्लोभाकिया, बुल्गेरिया, रोमानिया जस्ता मुलुकहरू बहुदलीय व्यवस्था र पुँजीवादी प्रणाली तर्फ फर्कँदै थिए ।

चीनमा सन् १९७८ देखि देङ सियाओ पिङ्गको नेतृत्वमा सुधार र खुलापनको  नीति सुरु भइसकेको थियो । चीन माओको समयको कठोर माओवादबाट टाढा गइसकेको थियो । चिनिया कम्युनिष्ट पार्टीले आर्थिक उदारीकरणको नीति लिएको थियो । राजनीतिक रूपमा भने कम्युनिष्ट पार्टीको कठोर नियन्त्रण कायम नै थियो ।

एक हिसाबले भन्ने हो भने विश्वभर समाजवाद र कम्युनिष्ट आन्दोलन संकटमा थियो । विश्वमा सन् १९९० ताका कम्युनिष्ट विचार सकियो, इतिहासको अन्त्य भन्ने बहस सुरु भएको थियो । धेरै मुलुकका कम्युनिष्ट पार्टीहरू या त नाम फेरेर समाजवादी बनेका थिए या त कमजोर बन्दै गएका थिए ।

विश्व कम्युनिष्ट आन्दोलन निक्कै संकटमा थियो । कम्युनिष्ट शासनलाई निरङ्शताको आरोप लागेको थियो । निरङ्कुशता कुनै पनि हालतमा स्विकार्न सकिँदैन भन्ने विश्व जनमत बन्दै थियो । त्यो जनमत मूल रूपमा कम्युनिष्ट पार्टी विरुद्ध खडा भएको थियो, खडा गरिएको थियो ।

विश्वमा कम्युनिष्ट पतन भइरहेको बेला नयाँ विचार र दृष्टिकोणको साथ एसियाको एउटा सानो तर विश्वकै सबैभन्दा उच्चो भूभाग भएको देश नेपालमा कम्युनिष्ट पार्टी लोभलाग्दो गरी अघि बढ्दै थियो । त्यो कम्युनिष्ट आन्दोलनलाई लोभलाग्दो बनाउने नयाँ विचारका परिकल्पनाकार हुनुहुन्थ्यो मदन भण्डारी ।

विश्व कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परिरहेको बेला मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) को अवधारणा ल्याएर नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली माटो अनुसारको बाटो देखाउनु भयो । बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने विश्व कम्युनिष्ट मान्यतालाई चुनौति दिँदै उहाँले केवल सशस्त्र क्रान्तिबाट मात्र होइन शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत समाजवादमा जान सकिन्छ  भनेर कम्युनिष्ट आन्दोलनको वैकल्पिक धार स्थापित गर्नुभयो ।

उहाँको विचार न सोभियत संघसँग मेल खान्थ्यो न चीनकै नक्कल थियो । जनताको बहुदलीय जनवाद त नेपाली मौलिक कम्युनिष्ट आन्दोलनको बाटो थियो । नेपाली माटो सुहाउँदो कम्युनिष्ट पार्टीको विचार थियो । त्यही विचारले नेपालको कम्युनिष्ट आन्दोलनलाई मात्र होइन संकटमा परेको विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउ ज्योति दियो । कम्युनिष्ट आन्दोलनका नयाँ रूप रेखा तयार गर्‍यो । दार्शनिक मार्क्सले तयार गर्नुभएको कम्युनिष्ट सिद्धान्तलाई समयानुकूल परिमार्जन गर्‍यो । मदन भण्डारी नेपालका कार्ल मार्क्स’को नयाँ अवतार भएर जन्मनु भयो ।

को हुन् मदन भण्डारी ? 

मदन भण्डारीको जन्म एउटा सामान्य परिवारमा विसं २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुंगेसाँघुमा भएको थियो । उहाँका बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारी हुनुहुन्थ्यो । बाल्यकालमा नै उहाँको संस्कृत र अन्य विषयहरूमा रुचि थियो । भण्डारीको प्रारम्भिक शिक्षा संस्कृत प्रधान विद्यालयहरूमा भयो । जहाँ उहाँले संस्कृतका श्लोकहरू कण्ठाग्र  गर्नुभयो ।

उच्च शिक्षा हासिल गर्नका लागि उहाँ भारतको वृन्दावन जानुभयो । जहाँ उहाँका दाजु मनोज पनि अध्ययन गर्नुहुन्थ्यो । वृन्दावनमा उहाँले संस्कृत, गणित, अङ्ग्रेजी, विज्ञान, भूगोल र इतिहासजस्ता विषयहरूमा अध्ययन गर्नुभयो । ९ र १० कक्षाको दुई वर्षे कोर्षलाई ९ महिनामा पूरा गरेर २०२४ सालमा उत्कृष्ट अङ्कसाथ एसएलसी उत्तीर्ण गर्नुभयो । २०३३ सालमा उहाँले बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो ।

भण्डारीको २०३९ सालमा विद्या पाण्डेसँग विवाह भएको थियो । उहाँहरूको दुई छोरीहरू उषाकिरण र निशाकुसुम छन् । उहाँकी धर्मपत्नी विद्यादेवी पाण्डे भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभयो । यो मदन भण्डारीले राख्नु भएको बहुदलीय जनवादको जगबाट नै सम्भव भएको हो ।

राजनीतिक यात्रा र विचार

बनारसमा बस्दा राजनीति बुझ्ने मौका पाउनु भएका मदन भण्डारीको राजनीतिक यात्रा २०३० को दशकमा सुरु भयो । पुष्पलालसँग भेट भएपछि विसं २०२८ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा रहेको नेकपाको भ्रातृ संगठन जनवादी सांस्कृतिक मोर्चाबाट राजनीति सुरु गर्नुभएका भण्डारी विसं २०३० सालबाट कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभयो ।

विसं २०३३ सालमा पुष्पलालसँगको वैचारिक मतभेदका कारण मुक्ति मोर्चा समूह गठन गर्नुभयो । सो समूहले २०३५ सालमा झापाली समूहसँग मिलेर नेकपा (माले) स्थापना गर्‍यो । भण्डारी त्यसको केन्द्रीय सदस्य बन्नुभयो ।  २०४१ सालमा उहाँ पार्टीको पोलिटब्युरो सदस्य बन्नुभयो । २०४६ सालमा भएको नेकपा (माले) को चौथो महाधिवेशनबाट भण्डारी महासचिव निर्वाचित हुनुभयो । २०४७ सालमा उहाँ भूमिगत जीवनबाट बाहिर आउनुभयो ।

नेकपा माले र नेकपा मार्क्सवादी मिलेर २०४८ साल फागुन १६ गते नेकपा एमाले बन्यो । उहाँ पार्टीको महासचिव नै बन्नुभयो । मनमोहन अधिकारी एकीकृत पार्टीको अध्यक्ष बन्नुभयो ।

२०४९ सालमा भरतपुर चितवनमा भएको नेकपा एमालेको दोस्रो राष्ट्रिय महाधिवेशन मदन भण्डारीले जनताको बहुदलीय जनवादी विचार औपचारिक रूपमा प्रस्तुत गर्नुभयो । जसलाई एमाले आत्मसाथ गर्‍यो र आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्‍यो । त्यसले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा हलचल ल्यायो भने कम्युनिष्ट विरोधीलाई आँखा तिलमिलाउने जवाफ दियो । जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण प्रतिस्पर्धात्मक लोकतान्त्रिक मार्गमा डोहोर्यायाे । सो विचारले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा प्रदान गर्‍यो ।

द्वन्द्वको सार्वभौम नियमलाई राजनीतिमा प्रयोग गर्ने, समाजको बहुलवादी चरित्रलाई स्वीकार गर्ने, र विविधतासँग सहअस्तित्वको आवश्यकता ल्याई स्वीकार गर्ने अवधारणा जनताको बहुदलीय जनवादले अघि सार्‍यो । उहाँको स्पष्ट धारणा थियो कि–‘हामीले माओको जुत्ता लगाएर हाम्रा पहाड चढ्न सक्दैनौँ, हाम्रो माटो सुहाउँदो जनवादको प्रयोग गर्छौँ ।’

राष्ट्रिय भाव, अन्तर्राष्ट्रिय दृष्टिकोण र कूटनीति

मदन भण्डारीको राष्ट्र प्रेम राष्ट्रिय भावमा कसैले खोट लगाउने ठाउँ थिएन । मदन भण्डारीले नेपाली जनतालाई देशको मालिक र परिवर्तनका संवाहक मान्नुहुन्थ्यो । उहाँले विदेशी प्रभाव वा हस्तक्षेपविरुद्ध स्वतन्त्र नेपाली समाज निर्माणमा जोड दिनुभयो । उहाँ नेपाली जनता आत्मनिर्भर, स्वाभिमानी र सार्वभौम हुनुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । उहाँ राष्ट्रियता, जनतन्त्र र समाजवादी विचारको पक्षमा स्पष्ट हुनुहुन्थ्यो ।

उहाँले राष्ट्रियता, जनतन्त्र र समाजवाद लाई नेपाली वाम आन्दोलनको मूल आधार मान्नुभयो । राष्ट्रियता बचाउन सकिएन भने जनतन्त्र र समाजवाद पनि असम्भव हुन्छ भन्ने कुरामा मदन भण्डारी स्पष्ट हुनुहुन्थ्यो ।

उहाँले विदेशी शक्तिको दबाब वा अनुकरणभन्दा आफ्नै देशको सामाजिक, आर्थिक, सांस्कृतिक यथार्थलाई ध्यानमा राखी राष्ट्रनिर्माण गर्नु पर्छ भन्ने सन्देश दिनुभयो । विदेशी विचारधाराको आँखामा नेपालको विकास नहेरौँ भन्ने धारणा मदन भण्डारीको थियो ।

उहाँको अन्तर्राष्ट्रिय दृष्टिकोण पनि प्रगाढ थियो । भण्डारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समर्थक हुनुहुन्थ्यो । सार्कले क्षेत्रीय मात्र नभएर द्विपक्षीय समस्याहरूको समाधान गर्न सक्षम हुनुपर्छ भन्ने भण्डारीको मान्यता थियो । यसका लागि सार्कलाई प्रभावकारी र उत्पादक बनाउनुपर्ने उहाँको धारणा थियो । असंलग्न राष्ट्रहरूको आन्दोलनका बारेमा पनि उहाँको स्पष्ट धारणा थियो ।

मदन भण्डारी र एमाले मदन भण्डारीको नेतृत्वमा एमाले जनतामाझ लोकप्रिय पार्टीको रूपमा उदायो । विश्वमा अस्ताउन लागेका कम्युनिष्ट आन्दोलन नेपालबाट मदन भण्डारीकै नेतृत्वमा संसारलाई चकित पार्ने गरी स्थापित भयो ।  २०४८ सालको संसदीय निर्वाचनमा एमालेले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । एमालेले विश्वले नसोचेको जति हात पार्‍यो ।

काठमाडौंमा मदन भण्डारीले दुईवटा निर्वाचन क्षेत्रमा जित निकाल्नुभयो । तत्कालीन प्रधानमन्त्री कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भण्डारीले चुनाव हराउनुभयो । त्यसले उहाँको हाइट अन्तर्राष्ट्रिय तहमा उचाल्यो ।

आज एमाले जुन ठाउँमा छ, एमाले जसरी सफलताको सिँढी चढ्दै छ त्यसमा मदन भण्डारीको योगदान छ । उहाँको विचारले एमालेलाई डोहोर्याएर अघि बढाएको छ ।

मदन भण्डारी एउटा यस्तो कम्युनिष्ट नेता हुनुहुन्थ्यो जो परम्परागत कठोर भाषाबाट होइन, विचार, तर्क र व्यवहारिकताको माध्यमबाट जनतालाई आकर्षित गर्नुहुन्थ्यो । अन्य कम्युनिष्ट नेताहरू शब्दको जञ्जालमा जेलिएर बस्दा भण्डारी स्पष्ट बोल्नु हुन्थ्यो । उहाँको भाषण सुन्न मात्रै हजारौँ मानिसहरु पुग्दथे । उहाँको भाषण मन्त्रमुग्ध भएर मानिसहरूले सुन्दथे ।

युवाहरूका माझ उहाँको आकर्षण निक्कै थियो, जसले गर्दा कम्युनिस्ट आन्दोलनमा नयाँ पुस्ताको ठुलो सहभागिता बढ्यो । भण्डारी टुँडिखेलबाटै राजालाई खुल्ला चुनौती दिनुहुन्थ्यो–‘महाराज हात नलम्काई बक्सियोस्, आफ्ना सुण्ड मुसुण्डहरुलाई नचलाई बक्सियोस्, यति सुण्ड मुसुण्डलाई नै लिएर आउने हो भने महाराजले न श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनु पर्‍यो ।’

कम्युनिष्ट आन्दोलन सामान्यतः एकदलीय शासनको मोडलमा विश्वास गर्छ । तर, मदन भण्डारीले बहुदलीय व्यवस्था भित्र पनि कम्युनिष्ट दर्शनलाई व्यवहारिक बनाउने अद्भुत प्रयोग गर्नुभयो । उहाँले स्वतन्त्र प्रेस, मानव अधिकार, बहुलवाद, नियमित निर्वाचन जस्ता लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै समाजवादमा पुग्ने आधार तयार गर्नुभयो । त्यसैको जगमा आज नेकपा एमाले हिँडिरहेको छ ।

कार्ल मार्क्सले वैज्ञानिक समाजवाद प्रतिपादन गरेर पुँजीवादको विश्लेषण र विकल्पको रूपमा नयाँ वैचारिक प्रणाली निर्माण गर्नुभएको थियो । मदन भण्डारीले पनि जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर नेपाली सन्दर्भमा कम्युनिस्ट आन्दोलनलाई वैकल्पिक विचार र दिशा दिनुभयो । यस आधारमा मदन भण्डारी मार्क्सजस्तै नेपाली परिस्थितिको वैचारिक मोडेल निर्माता हुनुहुन्छ ।  मार्क्सले वर्गसंघर्ष र क्रान्तिमार्फत समाजवादमा पुग्ने अवधारणा तयार गर्नुभयो । मदन भण्डारीले शान्तिपूर्ण निर्वाचन र बहुदलीय प्रतिस्पर्धाबाट समाजवादमा पुग्ने बाटो देखाउनुभयो । यो विचारमा मौलिकता र नेपालीपन छ । जसरी मार्क्सले युरोपेली सन्दर्भमा मौलिक विश्लेषण गर्नुभयो, त्यसैगरी मदन भण्डारीले नेपाली मौलिकता खोज्नुभयो । मार्क्सले मजदुर वर्गलाई संगठित गर्न विचारद्वारा मार्गदर्शन गर्नुभयो भने भण्डारीले पनि नेपालका वामपन्थी र श्रमजीवी वर्गलाई एकीकृत विचार दिनुभयो । त्यसैले मदन भण्डारीलाई ‘नेपालका कार्ल मार्क्स’ भनेर प्रतीकात्मक रूपमा भन्न पनि सकिन्छ ।

मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक स्पष्टता दिनु भयो । २०४६ सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय प्रणाली लागू भयो । त्यो बेला अधिकांश वामपन्थी दलहरू द्विविधामा थिए कि संसदीय प्रणाली स्वीकार गर्ने कि वर्गसंघर्षमा टिकिरहने । यस्तो समयमा मदन भण्डारीले संसदीय प्रणालीलाई समाजवादमा पुग्ने रणनीतिक मोडको रूपमा प्रस्तुत गर्नुभयो ।

नेपाली वाम आन्दोलन लामो समयसम्म कठोर मार्क्सवादी–माओवादी सिद्धान्तको जटिल जालभित्र अल्झिएको बेला मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई स्पष्ट वैचारिक आधार प्रदान गर्नुभयो । उहाँले नेपालका सन्दर्भमा कम्युनिष्ट आन्दोलनको दिशा तय गरिदिनुभयो । जबजले सशस्त्र क्रान्तिको सट्टा लोकतान्त्रिक प्रणालीबाट समाजवादमा पुग्न सकिने मार्ग देखायो । यसले वामपन्थी आन्दोलनलाई जनता माझ लोकप्रिय र व्यवहारिक बनायो ।

मदन भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) तथा पछि नेकपा (एमाले) लाई जनसंगठन, कार्यकर्ताको प्रशिक्षण, राजनीतिक स्कुल र बिचार दर्शनको माध्यमबाट संगठनात्मक रूपले बलियो बनाउने काम गर्नुभयो । पार्टीका नीति, कार्यक्रम र सिद्धान्तलाई साधारण जनतासमक्ष सरल भाषामा प्रस्तुत गर्ने रणनीति बनाउनुभयो । जसले गर्दा कम्युनिष्ट पार्टी प्रति फिँजाइएको भ्रम चिर्न सहयोग गर्‍यो ।

मदन भण्डारीको रहस्यमय हत्या 

२०५० सालको जेठ ३ गते चितवनको दासढुंगामा मदन भण्डारी र पार्टीका संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिपको रहस्यमय दुर्घटना भयो । सोही दुर्घटनामा उहाँहरूको निधन भयो । उहाँको शव गाडीमा मृत अवस्थामा भेटिएको थियो । जीवराज आश्रितको शव भने घटनास्थलदेखि तल नारायणी नदी किनारमा तीन दिनपछि भेटियो ।

सो घटनामा विभिन्न आयोग बने पनि वास्तविकता बाहिर ल्याउन सकेनन् ।  मदन भण्डारीको विचार र नेतृत्वले नेपाली राजनीतिमा स्थायी छाप छोडेको छ । उहाँको जनताको बहुदलीय जनवादी विचार आज पनि त्यतिकै सान्दर्भिक छ । यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिएको छ ।

आज तिनै जननेता मदन भण्डारी र कुशल संगठक जीवराज अश्रितको स्मृति दिवस । उहाँहरू दुवै जनाप्रति शब्द श्रद्धा ।