काठमाडौँ, ३ जेठ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ आज दोस्रो दिन पनि काठमाण्डौमा चलिरहेको छ । हिजोदेखि शुरू भएको सम्मेलन भोलिसम्म चल्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका अतिथिको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गर्नुभयो । सगरमाथा संवादमा विभिन्न देशका एक सय ७५ जना विदेशी पाहुना सहभागी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वदेशी र विदेशी गरी तीन सय ५० जना भन्दा धेरै विशिष्ट व्यक्तित्व संवादमा सहभागी छन् । हिजो उद्घाटन समारोहपछि पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भयो । सबै सत्र आज बेलुकासम्म सक्ने कार्यसूची छ । यो संवादले काठमाण्डौ घोषणा पत्र जारी गर्नेछ । हिजोको संवादमा सहभागी सरोकारवाला विज्ञहरुले अन्तर्राष्ट्रिय जलवायु सङ्कट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन् । साथै हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे निरन्तर बहस आवश्यक रहेको औँल्याएका छन् ।त्यस्तै नेपालले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्व समुदायसँग खबरदारी गरेको छ ।
सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धतासहितको ‘तेश्रो राष्ट्रिय निर्धारित योगदान’ सार्वजनिक समेत गरेको छ । नेपालले संरक्षणमा गरेका आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउने र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि यो संवाद उपयोगी हुने विश्वास गरिएको छ ।नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्