काठमाडौं, ३ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजिरहेको बताएका छन् ।
शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए । उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात सयभन्दा बढी चार्जिङ स्टेशनहरु रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत दिएर प्रवर्द्धन गरिरहेका बताए ।
उनले भने, ‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजी रहेका छौँ । नेपालमा धेरै विद्युतीय सवारी साधनहरु छन् तर अझै पनि यातायात व्यवस्था प्रर्याप्त छैन् । त्यसकारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ । पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेशनहरु थिएभने अहिले नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढि स्टेशनहरु छन् । प्राधिकरणबाट ती चार्जिङ स्टेशनहरुमा ११ केबीको मध्यम भोल्टेज विद्युत जान्छ । यसरी विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेका छौँ ।’
यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठूला ट्रक र बसहरु सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए । उनले भने, ‘विद्युतीय सवारी साधनको कुरा आएको छ । अहिले नयाँ विद्युतिय सवारी साधन भित्राउने योजनामा छौँ तर यो काम गर्दैगर्दा रोडमा गुड्ने ट्रक र ठूला बसहरु सबै पेट्रोलबाट चल्ने साधन हुन् ।
यी सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौँ । तर यसमा धेरै चुनौतीहरु छन् । हामीले यो विगत २० वर्षदेखि गर्न खोजिरहेका छौँ । तर विद्युतीय सवारी साधनमा परिणत गर्ने र यसलाई नियमन गर्ने काम गर्न सकिरहेका छैनौँ ।’ उनले नेपालमा ९५ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्