जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार १६:४१

सहकारी ठगलाई छाडिँदैन : मुख्यमन्त्री हिक्मतकुमार कार्की 


विराटनगर, १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी ठगहरूलाई नछाडिने बताउनुभएको छ ।

शनिबार विराटनगरमा आयोजित सहकारी ऐन र कार्यान्वयनका चुनौती विषयक कार्यक्रममा बोल्दै कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताउनुभयो । उहाँले सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नु भयो ।

मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेमाथि कडा कदम चाल्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । त्यसैले अपचलनमा संलग्नले उम्किने कोसिस नगर्न उहाँले आग्रह गर्नुभयो । सहकारी पीडितलाई न्याय दिन कुरामा उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै आर्थिक मामिला मन्त्री राम रानाले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई  काम गर्न सहज बनाउनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सहरका सहकारीमा बढी समस्या देखिएको बताउनुभयो । त्यस्ता सहकारीको नियमन बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।