काठमाडौं, ११ जेठ । नेकपा एमालेले आजबाट एमालेबाट वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला गर्दै छ ।
दुई दिनसम्म चल्ने भेलाको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलामा वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित ३ सय ५९ जना वडाध्यक्षले सहभागिता जनाउने नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा आयोजना गरिएको कार्यक्रम आज बिहान ११ बजे उद्घाटन हुँदै छ । यो भेलाबाट नयाँ सन्देश मात्र होइन वडाध्यक्षहरूले गर्ने काम व्यवहारिक रूपमा नै नयाँ हुने अपेक्षा राखिएको नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. भट्टराई बताउनुहुन्छ ।
वडा तहबाट जनतालाई दिइने सेवालाई थप प्रभाकारी बनाउन भेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । ‘तलका जनताले प्रत्यक्ष सेवा लिने निकाय भनेको वडा कार्यालय हो, सिंहदरबार गाउँमा पुग्यो भन्ने कुराको अनुभूति दिने ठाउँ भनेकै वडा हो, त्यो कार्यालयको व्यवस्थापन, त्यहाँका कर्मचारीको व्यवस्थापन र परिचालन, कामको प्रभावकारिता, विकास बजेटको प्रभावकारी कार्यान्वयनको विषय, सुशासनको प्रत्याभूति सबै विषयमा भेलामा छलफल हुन्छ’, उहाँले भन्नुभयो ।
त्यस्तै स्थानीय स्तरमा आएका कानुनी तथा व्यवहारिक समस्या र त्यसको समाधानका विषयमा पनि छलफल र प्रशिक्षण दिइने उहाँले बताउनुभयो । ‘प्रविधिलाई उपयोग गरेर सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषयमा पनि प्रशिक्षण दिने हो, उहाँहरूलाई प्रशिक्षण दिएर हिजो भन्दा प्रभाकारी सेवा दिने गरी तयार पारेर पठाउँछौँ’, उहाँले भन्नुभयो ।
डा. भट्टराईले वडाध्यक्षबाट आएको समस्या र सुझाव पार्टीको सम्पत्ति हुने र सरकारका कार्यक्रम र बजेटमा समेत त्यसलाई समेट्दै लैजाने प्रयास हुने बताउनुभयो । ‘कानुनी प्रक्रिया भित्र रहेर के कुरालाई प्राथमिकता दिने भन्ने कुरामा वडाध्यक्षहरू जानकार हुनुहुने छ, यसले सरकारको बजेट, कार्यक्रम निर्माण र कार्यान्वयनमा पनि सहयोग पुग्ने छ’, भट्टराईले भन्नुभयो ।
भेलाबाट फर्किँदा वडाध्यक्षको व्यवहारमा हिजो भन्दा परिवर्तन हुने उहाँको विश्वास छ । ‘हिजो भन्दा व्यवहारिक रूपले नै उहाँहरूले फरक रूपले काम गर्ने गरी हामी प्रशिक्षित बनाएर पठाउने छौँ, यो पार्टीको प्रदेश कमिटीको तर्फबाट हुन लगेको पहिलो कार्यक्रम हो, यसलाई हामी निरन्तरता दिन्छौँ’, उहाँले भन्नुभयो ।
अधिकांश सिफारिसका काम वडाबाटै हुने, जति ठुला योजना भए पनि वडासँगकै समन्वयमा सञ्चालन हुने भएकाले पनि वडाका जनप्रतिनिधिको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । त्यसैले विकासका कामलाई प्रभावकारी बनाउने र जनतालाई सहज सेवा दिने कुरामा वडाध्यक्षहरूलाई थप दक्ष बनाउन भेला आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्