पोखरा, जेठ ११ । नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।
निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । महाधिवेशनबाट फेरि दोहोरिन चाहनुभएका वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुनेभएको हो । नेकपा एमालेले क्षितिजको नाममा सर्वसम्मत बनाउने निर्देशन दिएपनि महासचिव सुमन पुरीले अस्वीकार गरेपछि सहमति प्रयास बिफल बनेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर सुमले सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टीको निर्देशन नमान्ने बताएपछि युवा संघ निर्वाचनबाट नेतृत्व चयनको बाटोमा गएको हो । एमाले नेताहरुले अध्यक्षमा क्षितिज थेवे र महासचिवमा महेश चौलागाईलाई बनाउन निर्देशन दिएका छन् ।
अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरुले पार्टी निर्देशन कार्यान्वयन गर्न जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाललाई निर्देशन दिनुभएको स्रोतले जनाएको छ । युवा संघमा सहमतिका लागि आइतवारसम्म प्रयाश गरिएको थियो तर संभव नभएपछि मतदानको गृहकार्य अगाडि बढाइएको छ । मतदानका लागि शनिवार बेलुका नै विद्युतीय भोटिङ मेसिन पोखरा ल्याइसकिएको छ भने एमाले निर्वाचन आयोगका मनोज खड्कासहितका नेता महाधिवेनश स्थलमा रहनुभएको छ ।
पोखरामा शुक्रबारदेखि जारी १० औं महाधिवेशनका क्रममा अध्यक्षका दुई दाबेदारमध्ये दुबैले दाबी नछाड्दा निर्वाचन तयारी गर्नुपरेको हो । अध्यक्ष पदका लागि क्षितिज थेवेलाई दोहोर्याउन पार्टीको निर्देशन छ । तर, महासचिव सुमन पुरीले पनि दाबी गरेपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको हो । थेवेलाई पुनः अध्यक्ष बनाउनका निम्ति पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेतको निर्देशन रहेको पार्टीस्रोतले जनाएको छ ।
यस्तै महासचिवमा चौलागाईलाई बनाउन पार्टी नेतृत्वको निर्देशन छ । उपमहासचिव राजन थापासहित सचिवहरू महेश चौलागाईं, पर्वत भण्डारी र विनय शाह महासचिवका लागि दावेदार रहनुभएको थियो । चुनाव हुनेभएपछि महेशलाई अगाडि सारिएको एमाले स्रोतले जनायो । युवा संघको महाधिवेशनमा १७५३ जना प्रतिनिधि रहेका छन ।
पार्टी अध्यक्ष ओलीले सर्वसम्मत वा चुनावमध्ये जुन विधिबाट भए पनि थेवेलाई नै पुनः अध्यक्ष बनाउन निर्देशन दिनुभएको हो । सो निर्देशनबमोजिम पार्टीको जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालसहितको पार्टी नेतृत्व थेवेकै पक्षमा देखिनुभएको छ ।
संघका पूर्वअध्यक्षहरू महेश बस्नेत, निरुदेवी पाल, राजीव पहारी, किरण पौडेल र रमेश पौडेलहरु पनि अन्तिम समयमा आएर थेवेकै पक्षमा खुल्नुभएको छ । पार्टी नेतृत्वको निर्देशन आउनुअघि उहाँहरू थेवेलाई दोहोर्याउन नहुने पक्षमा उभिनुभएको थियो ।
पार्टी निर्देशनपछि अध्यक्ष दाबी गर्ने उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी र प्रकाश गौतम पछाडि हटनुभएको थियो । त्यसमध्ये दुई वर्ष कार्यकालको बीचमा ४० वर्षको उमेरहद लागेर थेवे बिदा हुँदा गुरुङलाई अध्यक्ष बनाउने सहमतिअनुसार उहाँ अहिले उपाध्यक्षमै दोहोरिने हुनुभएको छ ।
पार्टी नर्देशन अवज्ञा गर्दै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएका महासचिव सुमन पुरीले पनि आफ्नो प्यानल बनाएरै चुनावी मैदानमा उत्रनुभएको छ । सुमनले आफ्नो समूह बनाइसकेको कारण पनि अध्यक्षमा छितिजलाई दोहोर्याउन नमानेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्