काठमाडौं, ११ जेठ । नेकपा एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई देश भरि उत्सवको रूपमा मनाउने निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । देशव्यापी रूपमा दिवस मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन पालिकास्तरमा पनि विशेष कार्यक्रम आयोजना गर्न निर्देशन दिने निर्णय भएको पोखरेलले बताउनुभयो । काठमाडौं उपत्यकाको हकमा झाँकी सहित दिवसलाई उत्सवका रूपमा मनाउन जनसांकृतिक महासंघलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ । ‘त्यसका लागि कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ’, बैठक पछि महासचिव पोखरेलले भन्नुभयो ।
जनताको सार्वभौमसत्ताको विरुद्धमा हुने कुनै पनि क्रियाकलाप एमालेलाई स्वीकार्य नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘गणतन्त्रलाई सफल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिएको छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्