जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार १९:११

एमाले सचिवालय बैठकपछि जुटे दुई दलका शीर्ष नेता, गृहमन्त्री लेखक पनि सहभागी


काठमाडौं, ११ जेठ ।  च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेता जुटेका छन् ।यो बैठकमा भिजिट भिसा प्रकरणमा आफूले खटाएका कर्मचारी र सचिवालयकै सदस्यसमेत मुछिएपछि विवादमा परेका गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आसन एकै ठाउँ राखिएको छ ।

बैठकमा प्रधानमन्त्री, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी हुनुहुन्छ ।उता कांग्रेसबाट सभापति देउवा, गृहमन्त्री लेखक, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी हुनुहुन्छ। कृषिमन्त्री रामनाथ अधिकारी पनि बैठकमा हुनुहुन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बैठकमा देखिनुभएको छैन ।पछिल्लो समय मन्त्री लेखक भिजिट भिसा सेटिङमा मुछिँदा सरकारलाई घेराबन्दी भइरहेको छ । लेखकको राजीनामा मागिएको छ तर उहाँले कर्मचारीबाट बदमासी हुँदैमा राजीनामा नदिने अडान लिनुभएको छ ।