काठमाडौं, १० असार । संघीय संसदको प्रतिनिधि सभाले आजको बैठकबाट आगामी आर्थिक वर्षका लागि ल्याइएको विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसअघि संसद बैठकले विभिन्न मन्त्रालय र कार्यालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूबाट लिने कार्यसूची रहेको छ। जवाफ दिने भनिएका मन्त्रालयहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय रहेका छन्।
साथै बैठकमा खर्च कटौतीको प्रस्तावमा निर्णय लिने कार्यसूची पनि रहेको छ। सांसद अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।
आजको बैठकबाट सरकारले प्रस्तुत गरेको बजेट विधेयकहरू पारित गर्ने प्रक्रिया टुंगोमा पुग्ने छ। सत्ता यस विषयमा सत्तरुढ दल बिच छलफल भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्