रामेछाप, १९ असार । सुन्तलाको राम्रो उत्पादनका लागि चिनिएको मन्थली नगरपालिका–१४ फुलासीका किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरिएको छ। मन्थली नगरपालिकाको साझेदारीमा पहाडी समाज कल्याण केन्द्र, दोरम्बा–रामेछापद्वारा सञ्चालित हेफर परियोजनाअन्तर्गत बिरुवा वितरण गरिएको हो।
कार्यक्रम अन्तर्गत स्थानीय ‘पशुपति महिला स्वावलम्बन समूह’ का सदस्य महिलाहरूलाई २२–२२ वटाका दरले जम्मा ७ सय बिरुवा वितरण गरिएको केन्द्रका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिनुभयाे। उहाँका अनुसार महिलाहरूको आम्दानी वृद्धि र आत्मनिर्भरतामा सहयोग पुगोस् भन्ने उद्देश्यले मागको आधारमा बिरुवा वितरण गरिएको हो।
फुलासी क्षेत्रमा किसानहरू विगतदेखि नै व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। स्थानीय कृषकहरूका अनुसार एउटै किसानले वार्षिक ६–७ लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्दै आएका छन्। उन्नत जातका बिरुवाले उत्पादनमा गुणस्तर वृद्धि, बिरुवा विस्तार तथा नयाँ बगैँचाको सम्भावनामा सहयोग पुग्ने विश्वास लिइएको छ।
बिरुवा वितरण कार्यक्रममा सहभागी वडाध्यक्ष मोतीलाल तामाङले व्यावसायिक खेतीले किसानको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गर्दै अरू किसानलाई पनि सुन्तला खेतीतर्फ आकर्षित हुन आग्रह गरे। ‘फुलासीका किसानले सुन्तलाबाट राम्रो आम्दानी गरिरहेका छन्’, उहाँले भन्नुभयाे ‘यस्तो योजनाले अझ व्यावसायिक बन्न टेवा पुग्नेछ।’
स्थानीय तह, सामाजिक संस्था र समुदायको साझेदारीमा सञ्चालित कृषि परियोजनाबाट ग्रामीण अर्थतन्त्र सुदृढ गर्न सकिने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्