जनता टाइम्स

१९ असार २०८२, बिहीबार १६:४१

आयुर्वेद उपचारमा बढ्दो आकर्षण, मन्थलीमा आयुर्वेद सेवा विस्तारको तयारी


रामेछाप, १९ असार ।  रामेछाप जिल्लाको मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पूर्ण क्षमतामा सेवा सञ्चालनको तयारीमा जुटेको छ ।

साँघुरो भवनको कारण सेवा सञ्चालनमा समस्या भोग्दै आएको चिकित्सालयले मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने भएको छ । चिकित्सालयलाई आवश्यक पर्ने भौतिक संरचनाको अभावले प्रभावकारी सेवा सञ्चालन गर्न समस्या झेलिरहेको अस्पतालले आवश्यक संरचना प्राप्त गरेसँगै पूर्ण क्षमताको सेवा प्रवाहको तयारी गरेको हो ।

मन्थली अस्पताल नयाँ भवनमा सरेपछि खाली भएको पुरानो भवन उपयोग गर्न लागिएको चिकित्सालयले जनाएको छ । यसले आयुर्वेद सेवाको दायरा र गुणस्तर दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

चिकित्सालयका अध्यक्ष नवराज पथिकले बिहीबार मन्थलीमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मन्थली अस्पतालको पुरानो भवनमा सेवा सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिनुभयो । ‘मन्थली नगरपालिकाले नयाँ भवन निर्माण नहुन्जेलसम्मका लागि उक्त भवन प्रयोग गर्न स्वीकृति दिएको छ, अहिले सरसफाइ, विद्युत् प्रणाली सुधार र अन्य पूर्वाधार कार्यहरू भइरहेको छन् असार महिना भित्रै औपचारिक रूपमा सेवा सुरु गर्ने योजना छ’, उहाँले भन्नुभयो ।

आयुर्वेद अस्पताल सञ्चालनका लागि कम्तीमा ६ रोपनी जग्गाको मापदण्ड भए पनि हाल चिकित्सालयसँग जम्मा २ रोपनी मात्र जग्गा भएकोले थप जग्गा प्राप्तिका लागि पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । अहिले चिकित्सालय रहेकै क्षेत्रमा सार्वजनिक जग्गा खालि रहेको त्यसको प्राप्तिका पहल पनि भइरहेको उहाँले बताउनुभयो ।

असार २५ गते रामेछापलाई पूर्ण खोप जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको र त्यसमा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री पनि आउन तयारी भइरहेकोले सम्भव भएसम्म सोही दिनबाट सो भवनबाट सेवा आरम्भ गर्ने योजना उहाँले सुनाउनुभयो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले गत आर्थिक वर्ष साउनदेखि जेठ मसान्तसम्म ३० हजार ७ सय ६४ जना सेवाग्राहीले आयुर्वेद सेवा लिएको जानकारी दिनुभयो । पछिल्लो समय नागरिकहरूमा आयुर्वेद उपचार प्रति विश्वास बढ्दै गएकोले सेवा लिन आउनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

नेपालका अनुसार आयुर्वेद सेवामा रोगको प्रकृति अनुसार जडीबुटी, पञ्चकर्म तथा पूर्वकर्म सेव, औषधि र अन्य वैकल्पिक उपचार विधिहरू उपलब्ध गराइन्छ। नसर्ने रोगका बिरामीहरूको सङ्ख्या चिकित्सालयमा बढ्दै गएको उहाँले जानकारी दिनुभयो । आयुर्वेदमा निक्कै आकर्षक उपचार पद्धति भएका बताउँदै उहाँले सेवा लिन जिल्लावासीलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले आयुर्वेद सेवामा देखिएका संरचनागत चुनौती, जनविश्वास निर्माण, सेवा विस्तार, र प्रवर्द्धनका लागि विभिन्न सुझावहरू राख्नु भएको थियो । उहाँहरूले संरचनागत सुधार, उपकरण तथा औषधिको उपलब्धता सुनिश्चित गर्न र दक्ष जनशक्ति अभिवृद्धि गर्न सुझाव दिनुभयो ।

आयुर्वेद चिकित्सालयले नयाँ भवनबाट सेवा सुरु भएपछि पहिलो चरणमा स्वास्थ्य परीक्षण, औषधी वितरण, र पञ्चकर्म तथा पूर्वकर्म उपचार, ल्याब परीक्षण, अकुपञ्चर, फिजियो थेरापी लगायतका सेवालाई थप प्रभावकारी बनाउने र बेड सहितको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने जानकारी कार्यक्रममा दिइएको थियो ।