जनता टाइम्स

२० असार २०८२, शुक्रबार ०६:५९

गायिका एलिनालाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट गर्ने एकजना पक्राउ


काठमाडौँ, २० असार । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट र गालीगलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो ।उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी भइरहेको ब्युरोका सूचना अधिकृत प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभएको छ । गायिका चौहानले यसअघि साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्नेविरूद्ध उजुरी दिनुभएको थियो । त्यसमध्ये एकजना समातिएको अवस्थीले जानकारी दिनुभयो । पक्राउ परेका राई कवि पनि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी शीर्ष २५ स्थानमा पुगेका थिए ।