प्यूठान, मंसिर १
अनुहार मलिन छ । हरपल रसाएझैं देखिन्छन् आँखा । ६१ वर्षीया दीपा अधिकारी रिजाललाई १४ वर्षअघिको दुःखान्तले आज पनि झस्काइरहन्छ । उनी चाहन्छिन्, त्यो घटना दिमागबाट मेटिएर जाओस् । तर अहँ, त्यो त आज पनि उत्तिकै ताजा छ ! उत्तिकै पीडादायी ।
०६१ माघ ८ गते शुक्रबार दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारीगाउँ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो । त्यो भयानक दुर्घटनामा परिवारका सबै सदस्य गुमाएकी थिइन्, बुहारी भित्र्याउने प्रतीक्षामा रहेकी बेहुलाकी आमा दीपाले । बुहारी ल्याउन आफूले अन्माएर पठाएको जेठो छोरो लोकराजसहित पति भीमकान्त, कान्छो छोरो माधव, देवर, भान्जा, भतिजालगायत ४१ आफन्तलाई त्यो दुर्घटनाले उनीबाट हठात खोसेको थियो ।
त्यसको एक वर्षपछि दीपाले गाउँको सबै सम्पत्ति बेचेर टारी छोडिन् । दाङको घोराही बजारनजिक एकतले घर किनेर छोरीज्वाइँको रेखदेखमा बस्न थालिन् । १४ वर्ष एक्लै बिताएको घरको एउटा कुनोमा थचक्क बस्दै उनले भनिन्, ‘भित्रभित्रै पोलिरहे पनि बाहिर खाटा बसिसकेको त्यो घाउ अब फेरि नकोट्याऊँ होला बाबु !’ निरन्तरको तनावले उनको रक्तचाप बढेको छ । नियमित औषधि खान्छिन् । रुँदारुँदा दुवै आँखा कमजोर भएका छन् । भर्खरै आँखाको शल्यक्रिया गरेकी छन् । कालो चस्मा लगाएर चिनजान गरेपछि बिस्तारै भनिन्, ‘मेरा लागि मात्र नभएर हाम्रो टारीगाउँकै लागि त्यो कालो दिन थियो ।’
घटनापछि टारीगाउँ पुरुषविहीन भयो । टारीका मात्र २२ महिला विधवा भए । तीमध्ये केहीले दोस्रो विवाह गरे । कति छोराछोरीसहित बसाइँ सरे । दीपाले भनिन्, ‘सिंगो गाउँको खुसी त्यो दिन त्यही एउटा बसभित्र थियो । गर्जेनीमै बिलायो ।’ मृत्यु भएका सबै ४१ जनालाई झिमरुक नदी किनारमा लहरै जलाइएको थियो । सबै मलामीका आँखा नदीजस्तै उर्लिएका थिए । वर्ष दिनपछिको बर्खान्त पनि एकै ठाउँमा सामूहिक रूपमा गरिएको थियो । त्यसलगत्तै दीपाले गाउँ छोडेकी हुन् ।
‘१८ वर्षमै जेठो छोरो जन्मेको थियो । बेलैमा जन्मेको छोराले बुढ्यौलीमा सुख देला भनेर एमएसम्म पढायौं । उसैको बिहेमा बज्रपात पर्यो,’ दीपा बिस्तारै खुलिन्, ‘ऊ सबैसँग मिल्ने स्वभावको थियो । आफ्नो बिहेमा धेरै जन्ती जानुपर्छ भनेर उसैले धेरै आफन्त बोलाएको थियो । टीकाटालो गरेर पठाएकी थिएँ । बेलुका बुहारीसहित खुसी लिएर फर्केलान् भनेको त सबै कहिल्यै नआउने गरी गए ।’
६० जना जन्ती लिएर गएको बसमा फर्कंदा ५६ जना थिए । तीमध्ये ३३ जनाले घटनास्थलमै ज्यान गुमाए भने पाँच जनाको प्यूठान अस्पतालमा, दुई जनाको बुटवलस्थित अञ्चल अस्पतालमा र एक जनाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो । चालकसमेत १५ जना घाइते भएका थिए । मृत्यु भएकामा टारीगाउँका मात्र २८ जना थिए । दाङका दुई जना र अरू प्यूठानकै पुण्यखोला, विजयनगर र खलंगाका थिए ।
घोराही सरेपछि दीपा टारी फर्केकी छैनन् । तर उनको मन टारीबाट अलग्गिएको पनि छैन । ‘यता आएपछि त्यो जमिन, घर, बाहिरी सेरोफेरो त छैन,’ उनले भनिन्, ‘तर, मनभरि सधैँ टारीगाउँ र आफन्तकै मात्र झल्को आइरहन्छ ।’ सपनामा टारीगाउँको सेरोफेरो र आफन्त देख्दा रमाउने उनी झल्यास्स बिउँझिँदा अर्कै संसारमा आइपुगेजस्तो लाग्ने बताउँछिन् । भन्छिन्, ‘ब्युँझँदा मसँग आफन्त र टारीगाउँ केही हँॅदैन । दिनभरि कुनामा बसेर एक्लै रुन्छु । कोसँग पीडा सुनाउनु रु सुनाए पनि अब गुमेका कोही फिर्ता हुने होइनन् ।’
रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यममा सवारी दुर्घटनाको समाचार सुन्नेबित्तिकै त्यही माघ ८ को सम्झना आउने गरेको दीपाले बताइन् । ‘मैले समाचारमा सुनेजतिका जन्तीबस दुर्घटनाको गन्ती गरेकी छु । ०६१ माघ ८ यता आठवटा जन्तीबस दुर्घटनामा परे,’ उनले भनिन्, ‘हाम्रो जत्रै ठूलो दुर्घटना अन्त भएको छैन । तर पनि भइरहेकै छन् ।’
दुर्घटनामा गम्भीर घाइते भएर लामो उपचारपछि बाँचेका प्यूठान नगरपालिका, गेजबाङका शिवराज पण्डितले दुर्घटनापछिको जीवनलाई भगवान्को उपहारका रूपमा लिएको बताए । पण्डितको दाहिने खुट्टा, देब्रे हात र बायाँपट्टिका सातवटा करङ भाँचिएका थिए । ‘दुर्घटना सम्झँदा त्यतिका लासको थुप्रोमा कसरी जीवितै रहिएछ भन्ने लाग्छ,’ उनले भने, ‘एकअर्कालाई हेर्दाहेर्दै गुमेका आफन्तको सम्झना आउँछ । बरर आँसु झर्छन् ।’ दुर्घटनामा घाइते भएकाहरू सबै अहिलेसम्म जीवितै रहेको पण्डितले बताए । तीमध्ये पाँच जना गाडी खस्दै गर्दा हामफालेर बाँचेका थिए भने आठ जना बससँगै खोलामा झरेका थिए ।
सालोको बिहे भएकाले निकै रमाइलो गर्दै जन्ती गएको पण्डितले सुनाए । उनका अनुसार फर्कंदा चालकले गाडी धेरै छिटो कुदाइरहेका थिए । गीत घन्किरहेको थियो । कोही नाच्दै थिए, कोही गाउँदै । बाहिर सिमसिम पानी परेको थियो । ‘अन्दाजी साँझ सवा ६ बजेको हुँदो हो । गर्जेनीको घुम्तीनेर आइपुगेपछि गाडीमा एक्कासि गड्याङ्ग आवाज आएको थियो । त्यसपछि गाडी पल्टिँदै सीधै खोलामा पुगेको सम्झन्छु,’ उनले भने, ‘अरू कुरा त अस्पतालमै पुगेपछि मात्र थाहा पाएँ ।’ त्यो सडक अझै फराकिलो पारिएको छैन । अझै पनि त्यो बाटो भएर यात्रा गर्दा डर लाग्ने गरेको उनले सुनाए । ‘त्यसबेला ग्राभेल थियो,’ उनले भने, ‘अहिले पनि उस्तै साँघुरो छ । कालोपत्रे मात्रै गरिएको छ ।’ (कान्तिपुरमा गिरुप्रसाद भण्डारीको समाचार छ )
प्रतिक्रिया दिनुहोस्