काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले सञ्चार क्षेत्रलाई गुनासो गर्ने ठाउँ नदिने भन्दै पाँच प्रतिवद्धता र अपेक्षा सुनाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिaपरिषदको कार्यालयमा आज पदबहालीसँगै सञ्चारकर्मीसँग अन्तरक्रिया गरी नेकपाका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन बिभागका उपप्रमुखसमेत रहनुभएका थापाले सूचनामा सवैको पहुँच पुर्याउने र सही सुचनाबाट कसैलाई बञ्चित हुन नदिने बताउनु भयो ।
‘फोन उठेन भनेर नरिसाउनु होला, आफै कलब्याक गर्छु, जरुरी भए एसएसएसको तत्कालै जवाफ फर्काउने छु, तत्कालै चाहिने वा अलिक पछि भएपनि हुने अवस्था रहेमा त्यसैअनुसार ब्यवस्था हुन्छ,’ सञ्चारकर्मीको सुझाव ग्रहणपछि प्रेस सल्लाहकार थापाले भन्नुभयो । उहाँले प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयको समाचारको बिषयमा आफूले २४ सै घन्टा रेस्पोन्स गर्ने प्रतिवद्धता जनाउनु भयो । पछिल्लो समयमा नेपाली मिडियामा छाएको र्यूमर, फेकन्यूज र पेडन्यूजको बिषयमा भने थापाले अलिक सचेत भइदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । ‘र्यूमर फैलाउने, फेकन्यूज, पेड न्यूज अलिक बढी नै आइरहेका छन, यसतर्फ भने सञ्चारकर्मी आफै सचेत हुनुपर्छ, सूचना लुकाउने काम हुन्न, मिडियाबाट पनि गलत सूचना सम्प्रेशन नहोस भन्नेमा हामी दुवैतर्फ सचेत हुन जरुरी छ,’ थापाले भन्नुभयो ।
थापा प्रेस सल्लाहकार नियुक्त भएसँगै कार्यालयसमेत सारिएको छ । तात्कालिन प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको पालामा उर्जा मन्त्रालयको भुई तलामा रहेको प्रेस सल्लाहकारको कार्यालय अहिले प्रधानमन्त्रीकै कार्यालयसामु सारिएको हो । जहाँ मुख्य सल्लाहकार बिष्णु रिमाल र बिदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँगै रहेको छ । पदबहालीको क्रममा थापाले प्रधानमन्त्री ओलीको एउटा सहयोगीको रुपमा आफूले काम गर्ने र सरकार तथा प्रधानमन्त्रीले अघि बढाउनु भएको समृद्ध नेपाल, सुखी नेपालीको योजनामा भएका उपलब्धीलाई जस्ताको तस्तै मिडियामा उपलब्ध गराउने बताउनु भयो ।
‘सूचना लुकाउने काम पनि हुन्न, भएको भन्दा बढी पनि भनिन्न, जे हो, त्यही तथ्य तपाईहरुले पाउनु हुनेछ, अन्त अन्त गएर र्यूमर फैलाउने काम गर्ने अवस्था आउन नदिनेतर्फ बिशेष सचेत छु,’ थापाले भन्नुभयो । उहाँले पहिलो पटक तात्कालिन प्रधानमन्त्री झलनाथ खनालको पालामा प्रेस सल्लाहकारको रुपमा आफूले गरेको कामको अनुभवसहित यसअघि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताका प्रेस सल्लाहकारहरुसँग समेत सुझाव लिएर आफूले सकेसम्म त्रुटीरहित काम गर्ने बताउनु भयो ।
थापाले सरकारका कामकारवाही र प्रधानमन्त्रीको सवास्थ्यका बारेमा ‘फेक’ र अतिरञ्जित समाचारहरु प्रकाशन तथा प्रसारण भइरहेको तथ्यसमेत राख्नुभयो । केही समययताको घटनाक्रम राख्दै उहाँले सत्यतथ्यमा आधारित समाचारमात्रै प्रकासन तथा प्रशारण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीप्रतिको विश्वास जित्न आग्रह गर्नुभयो । ‘फेक न्युजहरु बढी आइरहेका छन, अतिरञ्जना फैलाउने खालका समाचारहरु धेरै आइरहेका छन् । यसले राम्रो सन्देश गएको छैन, प्रधानमन्त्रीको स्वास्थ्योपचार डाक्टरले गर्ने हो, मन्त्रीहरु प्रधानमन्त्रीले नियुक्त गर्ने हो तर यहाँ यी सबै काम सञ्चारमाध्यमले गरिरहेका छन,’ थापाले भन्नुभयो ।
थापाले सञ्चारमाध्यमहरुले राज्यसत्ता र सरकार एउटै भएजसरी समाचार दिने गरेको भन्दै यी दुई विषयलाई छुट्टाछुट्टै रुपमा बुझ्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीसँग जोडिएका आवश्यक सूचना सञ्चारकर्मीहरुलाई सहजै र छिटो सम्प्रेषण गर्ने भन्दै आगामी दिनमा फेक समाचार र पेड समाचारतिर ध्यान नदिन पनि उहाँको सुझाव थियो ।
प्रतिक्रिया दिनुहोस्