जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०९:५१

नेकपा सचिवालय बैठक धुम्बाराहीमा शुरु, यस्ता छन् एजेण्डा


काठमाडौं, मंसिर १८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक सचिवालय बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिएर प्रचण्डले सचिवालय बैठकमा पार्टीको काम, उपनिर्वाचनको समिक्षा लगायतका विषयमा छलफल भईरहेको छ । गत मंसिर ४ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षकोकार्यबिभाजन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी हाँक्ने निर्णय गरेको थियो ।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ, नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ,’महासचिव बिष्णु पौडेलले जनताटाइम्ससँग भन्नुभयो । दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–प्रचण्डबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने गरी गत मंसिर ४ मा नेकपाले अध्यक्षद्वय ओली–प्रचण्डको कार्य विभाजन गरेको थियो ।

अस्पतालमै अध्यक्ष ओलीसँग परामर्श गर्नुभएका प्रचण्डले बैठक बोलाउनु अघि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग छलफल गरेर बैठक बोलाउनु भएको हो । अध्यक्ष प्रचण्डले मंगलबार बिहान वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ र दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बैठकबारेछलफल गर्नुभएको थियो । धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले सहभागी हुनु भएको छैन ।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रिय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगाएतका एजेण्डामा छलफल हुने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै अध्यक्ष दाहालले मंसिर २४ गतेलाई तय भएको आफ्नो चीन भ्रमणसमेत स्थगित गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्थात भदौ ९ गते पनि दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो। पार्टी कार्यालयमा बसेको उक्त बैठकले सांगठनिक एकीकरणका केही काम टुङ्गाएको थियो भने नेताकार्यकर्तालाई लागू हुने गरेर अनुशासनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो।