रामेछाप, साउन ५ । साउन ३ र ४ गते परेको अविरल वर्षाका कारण रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुस्थित श्री तावे आधारभूत विद्यालय परिसरमा पहिरो गएको छ। पहिरोका कारण विद्यालयको घेराबार तथा जालीवाल उच्च जोखिममा परेका छन्।
विद्यालयका प्रधानाध्यापक एलबी लामाले दिनुभएको जानकारीअनुसार निरन्तरको वर्षासँगै आएको पहिरोले विद्यालय परिसरमा क्षति पुर्याएको तथा थप जोखिम बढेको छ। समयमै आवश्यक संरक्षणका उपाय अवलम्बन नगरिए विद्यालयको भौतिक संरचनामा थप क्षति पुग्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो।
प्रधानाध्यापक लामाले सम्बन्धित निकायसँग पहिरो तथा भूक्षय नियन्त्रणका लागि तत्काल आवश्यक अध्ययन, संरक्षण र व्यवस्थापनका कार्य अघि बढाउन ध्यानाकर्षण गराउनुभएको छ। साथै, विद्यार्थी, शिक्षक तथा विद्यालयको सम्पत्तिको सुरक्षाका लागि आवश्यक पूर्वसावधानी अपनाउन र जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अविलम्ब कार्यान्वयन गर्न आग्रह गरिएको छ।













प्रतिक्रिया दिनुहोस्