जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १६:१०

चर्को ट्राफिक जरिवाना र जेल सजायले १३ लाख यातायात मजदुर विस्थापित हुने चिन्ता, सच्याउन माग


काठमाडौं, साउन १३ । चर्को जरिवाना र चालकलाई जसरी पनि जेल सजायको व्यवस्था गरिएको नयाँ ऐन मार्फत सरकारले यातायात मजदुर, स्वरोजगार व्यवसायीलाई विस्थापित गर्ने खतरा बढाएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तत्काल ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।

बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटी दोस्रो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष भीमज्वाला राईले सडक सुरक्षालाई प्रवर्द्धन गर्नु आवश्यक भए पनि सजायमुखी व्यवस्थालाई मात्र प्राथमिकता दिँदा देशका १३ लाख यातायात मजदुर, स्वरोजगार र व्यवसायीको पेशामा प्रत्यक्ष असर पर्ने बताउनु भयो ।

५ सयदेखि एक लाख रुपैयाँसम्मको जरिवाना र जेल सजायले उनीहरूको परिवारसमेत संकटमा पर्ने अवस्था सिर्जना हुने राईको भनाइ छ ।

सार्वजनिक यातायात क्षेत्रमा यातायात मजदुरहरू र साना लगानीका स्वरोजगारमा आधारित वर्गको उल्लेख उपस्थिति रहेकाले कठोर कानूनी व्यवस्थाले मजदुर विस्थापित हुने र व्यवसाय बन्द हुने चिन्ता पनि राईको छ ।

दुर्घटना न्यूनीकरणका लागि चालकको क्षमता विकास, नियमित तालिम, सुरक्षित सडक पूर्वाधार, प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारीको प्राविधिक परीक्षण प्राथमिकता दिनुपर्ने उहाँको जोड छ ।

कार्यक्रममा यातायात व्यवसायी तथा मजदुर नेताले दण्डमात्र बढाएर सडक सुरक्षा सुनिश्चित गर्न नसकिने भन्दै सुधारात्मक र निवारणमुखी नीतिको आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले यातायात मजदुर तथा व्यवसायीका प्रतिनिधिहरु सहितका सरोकारवालासँग छलफल गरेर बन्ने कानुनलाई व्यावहारिक, न्यायोचित र श्रम र लगानीमैत्री बनाउन सरकारसँग आग्रह गर्नुभयो।

संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती इन्चार्ज नवराज घिमिरेले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने उद्देश्यमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रमिक र स्वरोजगार व्यवसायीको अस्तित्व नै संकटमा पार्ने प्रावधानहरू पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव देविन श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका बागमती अध्यक्ष वेदप्रसाद घिमिरेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले लोकनाथ सुवेदी (प्रकाश)को अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा खड्गबहादुर मगर (मिलन), सचिवमा पवन धरेल, सहसचिव सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा सुवास बराल चयन हुनुभयो ।

सदस्यहरुमा कर्म वाइबा, रमेश श्रेष्ठ, विष्णु खड्का, संग्राम लामा, बालमुकुन्द घिमिरे साथै सल्लाहकारहरुमा देविन श्रेष्ठ, भर्जमान राई, रमेश खड्का र राजेन्द्र थोकर रहनुभएको छ ।