जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १०:३१

सर्वदलीय बैठकमा गगन थापाको प्रधानमन्त्रीमाथि प्रश्न : देश साम्प्रदायिक द्वन्द्वतर्फ उन्मुख छ, सरकार कहाँ छ ?


सुनसरी गोलीकाण्डपछि भड्किएको हिंसाबीच प्रधानमन्त्री र गृहमन्त्री बैठकमा अनुपस्थित  भए पछि कांग्रेस सभापति थापाले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभयो । 

काठमाडौं, साउन १३। नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी गोलीकाण्डपछि उत्पन्न हिंसात्मक घटनाले देश साम्प्रदायिक तनावतर्फ उन्मुख भइरहेका बेला सरकारको नेतृत्व प्रभावकारी रूपमा नदेखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न बुधबार आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सहभागी हुन सिंहदरबार पुग्नुभएका थापाले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। “यतिखेर सरकार के गर्दैछ ? सरकार कहाँ छ ? सरकार त स्टाटसमा मात्रै सीमित देखिएको छ,” भन्दै उहाँले अहिलेको संवेदनशील परिस्थितिमा सरकारको सक्रिय नेतृत्व आवश्यक रहेको बताउनुभयो।

उहाँले देश संकटमा परेका बेला प्रधानमन्त्रीले दलहरूबीच समन्वय गरेर साझा पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो। “यतिखेर त प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग परामर्श गर्ने, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास अघि बढाउनुपर्ने हो,” उहाँले भन्नुभयो।

सभापति थापाले सुनसरीमा भएको घटनालाई राज्य संयन्त्रको असफलताको निरन्तरता भएको टिप्पणी गर्दै यस्ता संवेदनशील घटनामा सरकारको नेतृत्व अझ जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो। “यस्तो बेला पनि प्रधानमन्त्री भाउ खाएर बस्ने, ठालू बनेर बस्ने ?” भन्दै उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो।

उहाँले नेपाली कांग्रेसले पनि आफ्ना जनप्रतिनिधि तथा नेताहरूलाई प्रभावित क्षेत्रमा सक्रिय भएर तनाव कम गर्न र सामाजिक सद्भाव कायम राख्न पहल गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।

सुनसरीको देवानगञ्ज क्षेत्रमा बोलबम यात्राका क्रममा सुरु भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने १० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए। त्यसपछि सुनसरीसहित पूर्वी तराईका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन, आगजनी, तोडफोड तथा साम्प्रदायिक तनाव फैलिएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गर्नुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको छ। घटनापछि सुरक्षाकर्मीको बल प्रयोग, प्रशासनको भूमिकालगायत विषयमा प्रश्न उठिरहेका छन् भने निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग पनि बढिरहेको छ।

यही पृष्ठभूमिमा रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर राजनीतिक संवादमार्फत समस्या समाधानको प्रयास सुरु गर्नुभएको हो।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताका साथै मधेश केन्द्रित दलका नेताहरू सहभागी हुनुहुन्थ्याे। तर, प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङ भने बैठकमा सहभागी हुनुभन। उहाँहरूको अनुपस्थितिलाई लिएर बैठकस्थलमै राजनीतिक दलका नेताहरूले सरकारको संकट व्यवस्थापन क्षमतामाथि प्रश्न उठाउनु भएकाे छ।