जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार २१:४०

तराईको तनावप्रति देउवाको चिन्ता : सामाजिक सद्भाव जोगाउँदै शान्ति र एकताको मार्गमा अघि बढौँ


 काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनयता तराई–मधेशका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गर्नुभएको छ।

उहाँले आज जारी गर्नुभएको वक्तव्यमा नेपाली समाजको पहिचान नै विविधताबीचको सहअस्तित्व, सहकार्य र आपसी सम्मान रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिनुभएको हो। “केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो,” उहाँले भन्नुभएको छ।

वर्तमान परिस्थितिमा सामाजिक सद्भाव खलबलिन नदिन सबै नागरिकलाई शान्ति र एकताको पक्षमा उभिन आग्रह गर्दै उहाँले भन्नुभएको छ, “म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।”

देउवाले सुनसरी घटनालगायत पछिल्ला हिंसात्मक घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ। “यस घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै उक्त घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” उहाँले उल्लेख गर्नुभएको छ।

पूर्वप्रधानमन्त्री देउवाले हिंसाको अवस्था थप जटिल बन्न नदिन सरकारलाई सबै राजनीतिक दलसँग सहकार्य गरी तत्काल आवश्यक पहल गर्न पनि आग्रह गर्नुभएको छ। “हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु,” उहाँले भन्नुभएको छ।

तराई–मधेसका विभिन्न जिल्लामा तनाव र हिंसात्मक गतिविधि बढिरहेका बेला प्रमुख राजनीतिक दलका नेताहरूले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सार्वजनिक रूपमा अपिल गरिरहेका छन्। देउवाको यो धारणा पनि सोही सन्दर्भमा आएको हो।