जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १०:५४

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठ्दा रवि हैरान : अहिले आलोचना गर्ने होइन, सामाजिक सद्भाव जोगाउने बेला हो


काठमाडौं, साउन १३ । सुनसरी घटनापछि उत्पन्न तनाव र सामाजिक सद्भाव कायम गर्ने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आयोजित बैठकमा प्रधानमन्त्री अनुपस्थित रहनुभएको विषय पत्रकारहरूले उठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीको बचाउ गर्नुभएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त बैठक सरकारको नभई राजनीतिक दलका शीर्ष नेताहरूको साझा छलफलका लागि आयोजना गरिएको स्पष्ट पार्नुभयो। सरकारको प्रतिनिधित्वका रूपमा रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी भएको उल्लेख गर्दै प्रधानमन्त्री र गृह मन्त्री आफ्नो जिम्मेवारीअनुसार आवश्यक काममै व्यस्त रहेको उहाँको भनाइ थियो।

उहाँले असामान्य परिस्थितिमा राजनीतिक दलहरू एकै ठाउँमा बसेर साझा धारणा बनाउने नेपालको लोकतान्त्रिक परम्परालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। सरकारलाई आवश्यक ध्यानाकर्षण गराउने, सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाउने र मुलुकलाई थप द्वन्द्वतर्फ जान नदिने उद्देश्यले बैठक आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।

“साम्प्रदायिक प्रकृतिका गतिविधिबाट सबैलाई घाटा हुन्छ। देश सबैको हो। राजनीतिक प्रतिस्पर्धा आफ्ना ठाउँमा भए पनि यस्ता संवेदनशील घटनामा सबै दल एक ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ,” उहाँले भन्नुभयो। बैठकपछि संयुक्त अपिल सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो।

प्रधानमन्त्री बैठकमा किन उपस्थित हुनुभएन भन्ने विषयमा पत्रकारहरूले पटक–पटक प्रश्न उठाएपछि सभापति लामिछानेले त्यसलाई अहिलेको प्राथमिक विषय बनाउन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले अहिले कसले के गर्‍यो वा गरेन भन्ने आलोचना गर्ने समय नभएको उल्लेख गर्दै सञ्चारकर्मीलाई समेत संयमता अपनाउन आग्रह गर्नुभयो।

उहाँले भदौ २३ र २४ गते देखिएको परिस्थिति र हाल सुनसरी घटनापछि विकसित अवस्था फरक रहेको दाबी गर्नुभयो। उहाँले अघिल्लो आन्दोलन सामाजिक सञ्जाल बन्द गरिएको विषयसँग सम्बन्धित थियो भने अहिलेको अवस्था साम्प्रदायिक तनावसँग जोडिएको भएकाले दुवै घटनालाई एउटै रूपमा हेर्न नहुने बताउनुभयो।

सभापति लामिछानेले सामाजिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार र संयमित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विशेषगरी सञ्चारमाध्यमले तथ्यमा आधारित र जिम्मेवार समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले अहिलेको संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाए मात्र सामाजिक सद्भाव कायम राख्न सकिने विश्वास व्यक्त गर्नुभयो।