काठमाडौं, साउन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी गोली कसले चलायो भन्ने सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँले प्रहरी र सेना परिचालन तथा आकाशमा ड्रोन उडाएर मात्रै समस्या समाधान नहुने उल्लेख गर्दै वर्तमान परिस्थितिमा देशले प्रधानमन्त्रीबाट अभिभावकीय नेतृत्वको अपेक्षा गरिरहेको बताउनुभयो।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले सुनसरी घटनामा एक युवकको ज्यान गएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो। अनुसन्धान पूरा नहुँदै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रहरीको गोलीबाट मृत्यु भएको उल्लेख गरेको विषयमा समेत उहाँले प्रश्न उठाउनुभयो। “हाम्रो प्रश्न कसको गोलीबाट युवकको मृत्यु भएको हो, त्यसको जवाफ चाहिन्छ, कुन अध्ययन वा अनुसन्धानले प्रहरीको गोलीबाट मृत्यु भएको पुष्टि गरेको हो?” उहाँले प्रश्न गर्नुभयो।
ओलीले सुनसरीमा गोली कसले चलाएको थियो भन्ने विषयमा सरकारले सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै अनुसन्धान निष्कर्षमा नपुग्दै सरकारले घटनाबारे धारणा सार्वजनिक गर्नु उचित नभएको बताउनुभयो।
उहाँले मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै विगतका राष्ट्रिय संकटका समयमा शीर्ष नेतृत्वले राष्ट्रलाई सम्बोधन गर्ने अभ्यास रहेको स्मरण गराउनुभयो। “योभन्दा डरलाग्दा घटनाहरू आएका थिए, त्यतिबेला प्रधानमन्त्रीहरूले सम्बोधन गर्नुहुन्थ्यो, राष्ट्राध्यक्षका रूपमा रहेका राजाले पनि सम्बोधन गर्नुहुन्थ्यो तर आज देशले प्रधानमन्त्रीको अभिभावकत्व खोजिरहेको छ,” उहाँले भन्नुभयो।
प्रमुख सचेतक ओलीले सत्तारुढ दलका नेताले जनजी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र सुनसरी घटनालाई फरक रूपमा व्याख्या गरेको प्रसंग उल्लेख गर्दै घटनाको प्रकृति फरक हुन सक्ने भए पनि राज्यको जवाफदेहिता भने समान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। “घटना, स्थान, प्रकृति र पृष्ठभूमि फरक हुन सक्छन्, तर त्यसपछि राज्यले वहन गर्नुपर्ने जवाफदेहिताको प्रश्न आज पनि एउटै छ, राज्यबाट चलेका गोलीका घटनामा फरक–फरक मापदण्ड कसरी हुन सक्छ?” उहाँले प्रश्न गर्नुभयो।
उहाँले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान गर्न, सत्यतथ्य सार्वजनिक गर्न तथा नागरिकको विश्वास कायम हुने गरी सरकार प्रस्तुत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।












प्रतिक्रिया दिनुहोस्