जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १२:२५

सुनसरी गोलीकाण्डको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले


काठमाडौं, साउन १४ । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न भएको तनावप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न तथा संकट व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको बताउनुभयाे । उहाँले विगतमा यस्तै घटनामा तत्कालीन सरकारसँग नैतिक र राजनीतिक जिम्मेवारी माग्नेहरू अहिले सत्तामा रहँदा आफ्नै नागरिकको मृत्यु हुँदा मौन बसेको टिप्पणी गर्नुभयो। “काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भन्नेहरू आज सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि नैतिक जिम्मेवारी लिनुपर्छ, अरूलाई फौजदारी कसुर थोपर्नेहरू आज घटनाको जिम्मेवारी लिन तयार छन् कि छैनन् ?” उहाँले प्रश्न गर्नुभयो।

उपनेता अर्यालले प्रधानमन्त्री संकटका बेला जनतामाझ उपस्थित हुनुपर्ने उल्लेख गर्दै नेतृत्वको जिम्मेवारी केवल सिंहदरबारमा सीमित नहुने बताउनुभयो। “प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र होइन। देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्व जनताको बीचमा पुगेर संवाद गर्नुपर्छ”, उहाँले भन्नुभयो।

उहाँले सरकार दङ्गा नियन्त्रण र शान्ति सुरक्षामा प्रभावकारी बन्नुको सट्टा त्रास सिर्जना गर्ने दिशामा गएको आरोप लगाउँदै राज्यका सबै निकायले संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो। धार्मिक अभियन्ता, समुदायका अगुवा तथा सबै सरोकारवालालाई उत्तेजना, आवेग र प्रतिशोधबाट टाढा रहँदै सामाजिक सद्भाव र शान्ति कायम गर्न पनि उहाँले आग्रह गर्नुभयो।

“काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भन्नेहरू आज सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि नैतिक जिम्मेवारी लिनुपर्छ, अरूलाई फौजदारी कसुर थोपर्नेहरू आज घटनाको जिम्मेवारी लिन तयार छन् कि छैनन् ?”

अर्यालले कैलालीको टीकापुर, रौतहटको गौर र नेपालगञ्जलगायत विगतका घटनालाई स्मरण गर्दै कुनै पनि हिंसात्मक घटनालाई एउटै मापदण्डबाट हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सुनसरी घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

प्रधानमन्त्रीले संसद्मा विगतमा सीमानाकाे विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उहाँले ती विषयमा एमालेले लगातार प्रश्न उठाइरहे पनि सरकारले चित्तबुझ्दो जवाफ नदिएको बताउनुभयो।

उहाँले बाढी–पहिरो पीडितको राहत तथा पुनःस्थापनामा सरकार सुस्त देखिएको, सुकुम्वासी व्यवस्थापनका नाममा अमानवीय व्यवहार गरिएको आरोपसमेत लगाउनुभयो।

यद्यपि, सरकार जनतामा आशा जगाउने, शान्ति सुरक्षा सुदृढ गर्ने र मुलुकलाई सही दिशामा अघि बढाउने योजनासहित अघि आए एमालेले रचनात्मक सहयोग गर्न तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

“जनतामा विश्वास जगाउने र मुलुकलाई सुदृढ बनाउने योजनाका साथ सरकार अघि बढे हामी काँधमा काँध मिलाएर साथ दिन तयार छौँ,” उपनेता अर्यालले बताउनुभयो।