जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १२:०८

 कांग्रेसकी प्रमुख सचेतक बासना थापाकाे प्रश्न : हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र सदनमा आँसु झार्ने गृहमन्त्री आज किन मौन ?


काठमाडौं, साउन १४  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडपका क्रममा एक युवकको मृत्यु भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले उक्त घटनाको सम्पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो। नागरिकको मृत्युजस्तो संवेदनशील घटनापछि सरकार मौन बस्नु दुःखद भएको उहाँको टिप्पणी थियो। “नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले दिनुपर्छ, यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ,” उहाँले भन्नुभयो।

थापाले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै विगतमा यस्तै घटनामा कडा प्रतिक्रिया जनाउने नेतृत्व अहिले आफ्नै नागरिकको मृत्यु हुँदा मौन बसेको बताउनुभयाे । “प्रधानमन्त्रीको पद बदलिएर मन बदलियो कि व्यवहार ? सन्तानको माया त आमाका लागि एउटै होइन र ? आज आमाले आफ्नो कोख रित्याएकी छिन्, बाबुले सहारा गुमाउनुभएको छ तर यो घटनापछि सरकार मौन छ, हिजो आक्रोश पोख्ने प्रधानमन्त्री मौन हुनुहुन्छ, हिजो सदनमा आँसु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ, कि तपाईँहरूले लगाएको कालो चश्माले मृत्यु र रगतको रङ पनि फरक–फरक देखिन्छ ?” उहाँले प्रश्न गर्नुभयो।

उहाँले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाहले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरेका टिप्पणीहरूको प्रसंग स्मरण गराउँदै अहिले सरकार स्वयं त्यही अवस्थाको सामना गर्दा किन मौन रहेको भनी प्रश्न उठाउनुभयो। ‘तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस स्मरण भइरहेको छ- “तेरो …हरुको पो बा भइस्, साँच्चै नै कहिल्यै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस् ? यस्तो आतङ्कवाद यो विश्वले कहिल्यै देखेको थिएनन्” यति कुरा बुझ्नलाई इसारा नै काफी छ’, उहाँले भन्नुभयाे ।

प्रधानमन्त्रीको पद बदलिएर मन बदलियो कि व्यवहार ? सन्तानको माया त आमाका लागि एउटै होइन र ? आज आमाले आफ्नो कोख रित्याएकी छिन्, बाबुले सहारा गुमाउनुभएको छ तर यो घटनापछि सरकार मौन छ, हिजो आक्रोश पोख्ने प्रधानमन्त्री मौन हुनुहुन्छ, हिजो सदनमा आँसु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ, कि तपाईँहरूले लगाएको कालो चश्माले मृत्यु र रगतको रङ पनि फरक–फरक देखिन्छ ?”

प्रमुख सचेतक थापाले नेतृत्व भनेको प्रशासन सञ्चालनमा मात्र सीमित नहुने, संकटका बेला नागरिकको मनोबल सम्हाल्ने जिम्मेवारी पनि सरकारकै हुने उल्लेख गर्नुभयो। नागरिकले ज्यान गुमाउँदा सरकारको उदासीनताले राज्यप्रतिको जनविश्वास कमजोर बनाउने उहाँको धारणा थियो।

थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधि नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताउँदै नेपाली समाजको मुख्य शक्ति आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्नुभयो। उहाँले कुनै पनि उक्साहट वा घृणाको राजनीतिबाट प्रभावित नहुन र सामाजिक एकता तथा भाइचारा कायम राख्न सबैमा आग्रह गर्नुभयो।

उहाँले सुनसरी घटनामा ज्यान गुमाएका युवकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो।