जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १३:४०

सरका संसद्प्रति उत्तरदायी हुनुपर्छ, फेसबुकबाट देश चल्दैन : अर्जुननरसिंह केसी


काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नागरिकप्रति राज्यले देखाएको चरम उपेक्षा, सरकारको गैरजवाफदेहिता र संसद्प्रतिको बेवास्ताका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले सुनसरीको कप्तानगञ्ज गोलीकाण्ड र त्यसपछिको घटनाक्रमलाई राज्यको कमजोर उपस्थितिको परिणामका रूपमा व्याख्या गर्नुभयो। उहाँले नागरिकप्रति राज्यको उदासीनता, बढ्दो आत्महत्या र आत्मदाहका घटना तथा सेना परिचालनको अवस्थाले देशको सामाजिक सद्भावमाथि चुनौती थपिएको बताउनुभयो। “नागरिकप्रति राज्यको चरम उपेक्षा, आत्मदाह र आत्महत्याको बढ्दो क्रम, कप्तानगञ्जको गोलीकाण्ड र सेना परिचालनको अवस्था हेर्दा धर्म, सम्प्रदाय र संस्कृतिबीचको एकता र विशिष्टतामाथि गम्भीर चुनौती खडा भएको छ,” उहाँले भन्नुभयो।

“अत्यधिक बहुमत र ठूलो आशा तथा भरोसासाथ बनेको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन, फेसबुक स्टाटसबाट देश चलाउने हो ? यसको जवाफ अहिले आम जनताले खोजिरहेका छन्,”

सांसद केसीले वर्तमान सरकार बहुमतको दम्भमा चलेको बताउँदै प्रधानमन्त्री बालेन्द्र साहले संसदीय प्रणालीभन्दा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको टिप्पणी गर्नुभयो। “अत्यधिक बहुमत र ठूलो आशा तथा भरोसासाथ बनेको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन, फेसबुक स्टाटसबाट देश चलाउने हो ? यसको जवाफ अहिले आम जनताले खोजिरहेका छन्,” उहाँले बताउनुभयो।

उहाँले सरकारले कमजोर र विपन्न वर्गका नागरिकका समस्या समाधान गर्न नसकेको आरोप पनि लगाउनुभयो। सुकुम्बासी, लघुवित्त पीडित, महँगी र आर्थिक मन्दीका कारण जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको उहाँको धारणा थियो।

सांसद केसीले प्रधानमन्त्रीले संसद्लाई अपेक्षित महत्व नदिएको आरोपसमेत लगाउनुभयो। प्रतिनिधिसभा सरकारको प्रमुख जवाफदेही मञ्च भए पनि प्रधानमन्त्रीको उपस्थिति अत्यन्त न्यून रहेको उल्लेख गर्दै उहाँले कार्यकारी नेतृत्व संसद्प्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँका अनुसार प्रधानमन्त्रीले हालसम्म प्रतिनिधिसभामा जम्मा सात दिन र त्यसमा दुईदेखि तीन घण्टामात्र उपस्थिति जनाउनुभएको छ । जुन संसदीय अभ्यास र उत्तरदायित्वको भावना प्रतिकूल भएको उहाँको टिप्पणी थियो।